newskoseli.Com

आफूले तयार पारेकै चितामा जब आफैं जल्नुपर्‍यो… !

चाबहिलस्थित चलचित्र विकास बोर्डको प्रांगणमा सोमबार दिउँसो एकातर्फ बोर्डका अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो, अर्कातर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए ।

वरिष्ठ अभिनेता समेत रहेका बोर्डका अध्यक्ष केशव भट्टराईले दिवंगत अभिनेता दीपक क्षत्रीको श्रद्धाञ्जलीसभा बोर्डकै प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए । ‘पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर दीपक दाइको अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्डका अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए ।

चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए । दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार त भट्टराईकै पो श्रद्धाञ्जलीसभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो ।

अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो । अभिनेता क्षत्रीको श्रद्धाञ्जली र अन्त्येष्टि सम्मानपूवर्क गर्ने तयारीको जिम्मा बोर्डका कर्मचारीलाई दिएका अभिनेता भट्टराई आफैं भने सो श्रद्धाञ्जली र अन्त्येष्टिमा ‘मलामी’ का रूपमा सहभागी हुनेवाला थिए । तर, दुर्भाग्य ! अभिनेता क्षत्रीको चितासँगै भट्टराईको चिता पनि सोमबार बेलुकी नै जल्यो, जुन कुरा भट्टराईले कल्पना समेत गरेका थिएनन् ।

हृदयाघातका कारण आइतबार बेलुका ५१ वर्षको उमेरमै भट्टराईको निधन भएको खबर डब्बु क्षत्रीको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर