newskoseli.Com

‘कोरोना नेपाल आइपुगेको छैन’ : स्वास्थ्यमन्त्री, यस्तो छ सरकारी तयारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नदेखिएको प्रष्ट यार्दै सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सार्वजनिक महत्त्वको विषयमा जानकारी गराएका हुन् । कोरोना भाइरसबाट बच्नका लागि सरकारले लिएको पहलकदमीका बारेमा जानकारी दिँदै नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा आएको उनले बताए ।

‘चीनको वुहान प्रान्तबाट पढेर आएका १३ विद्यार्थीमा ९ जनवरीमा परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो, पछिल्लो समयमा परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको छ,’ मन्त्री ढकालले भने– ‘नेपालमा अहिलेसम्म यो भाइरसको सङ्क्रमण देखिएको छैन ।’ उक्त भाइरस नेपालमा प्रवेश गर्नै नदिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा दुई पटक मन्त्रिस्तरीय बैठक बसिसकेको छ भने स्वास्थ्यमन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल समेत बनेको छ ।

के–के छन् सरकारी तयारी ?

कोरोना भाइरसको सङ्क्रमणबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाइएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारी समेत गरेको जानकारी मन्त्री ढकालले दिए । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलो पटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३ सय ५१ जनामा सो भाइरस देखिएको छ । तीमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ ।

कोरोना भाइरसका कारण चीनमा ३ सय ६२ जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमध्ये ३ सय ६१ को चीनमा मृत्यु भएको हो भने चीनबाट गएका एक नागरिकको फिलिपिन्समा मृत्यु भएको हो । सरकारले कोरोना भाइरसका बारेमा आम नागरिकलाई सचेतनाका लागि रुघाखोकी लागेको व्यक्तिसँग नजिक नजाने र साबुन–पानीले हात धुने बारेमा जानकारी दिँदै सो भाइरसले चिसोमा बढी आक्रमण गर्ने र गर्मीमा सुषुप्त बस्ने देखिएको मन्त्री ढकालले जानकारी दिए ।

‘सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषदको बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल गर्‍यो,’ मन्त्री ढकालले भने– ‘यो अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन, २ देखि १४ दिनसम्म सङ्क्रमित हुन सक्छ ।’ यो रोगका बिरामीका बारेमा समाजमा पत्ता नलाग्न पनि सक्ने हुनाले उच्च सावधानी अपाउनुपर्नेमा उनले जोड दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर