newskoseli.Com

कोरोनाबाट मर्नेको संख्या १३०० नाघ्यो, एकै दिनमा २४२ को मृत्यु, कम्युनिस्ट पार्टीले हटायाे प्रान्तीय सचिव

कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

वुहानबाटै सन् २०१९ को अन्त्यतिरबाट यसको सङ्क्रमण सुरु भएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालै मात्र वैज्ञानिकहरुले ‘कोभिड– १९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण हुने मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको छ ।

वुहानमा मात्र थप १४ हजार ८ सय ४० जनामा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । बुधबार भएको मृत्युसँगै मृतकहरूको कूल सङ्ख्या १ हजार ३ सय ५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्किएका बाहेक हाल सङ्क्रण भई उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ ।

यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताइएको छ । उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । केही दिनअघि मात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार चीनमा सङ्क्रमित बिरामीहरुमध्ये करिव ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको छ । यस सङ्क्रमणबाट वुहानमा ज्यान गुमाएका २ सय ४२ जनामध्ये १ सय ३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो । यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या हालसम्म ४८ हजार २ सय ६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर