newskoseli.Com

‘स्मार्ट’ ड्रेसअप गर्ने वीर अस्पतालका यी डाक्टर…

वीर अस्पतालको मुटुरोग विभागका पूर्व विभागीय प्रमुख हुन्– डा. प्रकाशराज रेग्मी । मुटु रोगीको सेवा गर्नु उनको दैनिकी हो । ६ फिट अग्लो कदका उनको तौल ८८ किलोग्राम छ । उचाईको तुलनामा उनको तौल केही बढी नै हो । ३२ वर्ष चिकित्सकीय सेवा गरिसकेका ६० वर्षीय डा. रेग्मीको शरीर ‘फिट’ देखिन्छ ।

हट्टाकट्टा ज्यान भएका उनी जवान झैं फुर्तिला र ‘स्मार्ट’ देखिन्छन् । उनले लगाउने पोशाक पनि चिटिक्क र ‘फिट’ देखिन्छन् । बिरामीको सेवामा तल्लिन रहनुपर्ने चिकित्सकीय पेशा अँगालेका व्यक्तिले लगाउने पोशाकमा अत्यन्तै सचेतता अपनाउनुपर्ने उनको धारणा छ । ललितपुरको झम्सिखेलस्थित नेपाल हार्ट क्लिनिक पुग्दा चिटिक्क अवस्थामा भेटिएका उनै मुटुरोग विशेषज्ञ रेग्मीसँग गरिएको पोशाक–संवाद–

पोशाकमा कत्तिको सचेत हुनुहुन्छ ?

छु । चिकित्सकप्रति बिरामीको विश्वास आवश्यक हुन्छ । बिरामीप्रतिको इमानदारिताका लागि चिकित्सकले लगाउने पोशाकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । पोशाकले व्यक्तित्व दिन्छ । व्यक्तित्वले उपचारमा भूमिका खेल्छ ।

कस्ता पोशाक लगाउन मन पर्छ ?

फ्रि ड्रेस लगाइन्छ । पार्टीमा जाँदा सुट लगाउँछु । पहिले कोट–टाई धेरै लगाइन्थ्यो । सेमिनार, गोष्ठीमा जाँदा टाई–सुट लगाउँछु । अन्य समयमा बढिजसो इन्फर्मल किसिमका लुगा लगाइन्छ । मौसमअनुसारका लुगा त लगाउनै पर्‍यो । गर्मीको तुलनामा जाडोमा अलि बढी इनफर्मल ड्रेस लगाउँछ । हिँडडुल गर्न कम्फर्ट हुने ड्रेस लगाउँछु ।

तपाईंको पोशाकका प्रायः ‘आइटम’ चाहिँ के–के हुन् ?

पाइन्ट, कमिज र कोट । बिरामी जाँच्न बस्दा चिटिक्कका लुगा लगाउँछु र एप्रोन लगाउन सकभर छुटाउँदिन । टोलमा घुम्दा समेत आफूले स्वास्थ्य जाँच गरेका बिरामीले चिन्ने भएकाले पोशाकमा ध्यान दिन्छु । टोपी लगाउँदिन ।

यात्रा गर्दा कस्ता पोशाक लगाउनुहुन्छ ?

यात्रामा निस्कँदा शरीरलाई सहज र हल्का हुने किसिमका लुगा लगाउँछु । यात्रा गर्दा धेरैजसो कपडाका पाइन्ट, कपडाकै जुत्ता लगाउँछु । जिन्स पाइन्ट पनि लगाउँछु । धेरै गोजी भएका लुगा लगाउँछु ।

जाडो मौसममा के–के लगाउनुहुन्छ ?

जाडो मौसममा प्रायः बाक्लो पाइन्ट र कोटको सट्टा ज्याकेट लगाउँछु । तर, अफिसमा बस्दा जिन्सको पाइन्ट लगाउँदिन ।

अनि गर्मीमा नि ?

गर्मीमा प्रायः हाफ् सर्ट नै लगाउँछु । टिसर्ट लगउँदा पाइन्ट बाहिर छाडेर लगाउन खुब मन पर्छ । रङ्गीबिरङ्गी किसिमका सर्ट र टिसर्ट लगाउँछु ।

पोशाक किन्न कत्तिको शौख लाग्छ ?

लाग्छ । कपडा त धेरै नै किनिन्छ । राम्रो देख्यो कि किनिहाल्छु ।

लगाउने पोशाकमा वार्षिक कति खर्च गर्नुहुन्छ ?

झन्डै ७० हजार त खर्चिन्छु होला । यसपालि जाडाअघि युरोपमा बीस हजार रूपैयाँको एउटा स्वेटर किनें । टिसर्ट, कमिज त राम्रो लाग्यो कि किनिहाल्छु ।

त्यसोभए कपडा त टन्नै होलान् नि ?

घरमा त धेरै कपडा छैनन् । पुराना कपडा साथीभाइ र आफन्तलाई बाँड्छु । लुगाको अभाव भएका व्यक्तिलाई पनि दिन्छु । एउटा कपडा दुई वर्षभन्दा बढी लाउँदिन । दुई वर्षमा पनि नयाँ नै हुन्छन् ।

एउटा लुगा कति दिनसम्म लगाउनुहुन्छ ? कि दिनहुँ फरक–फरक लगाउनुहुन्छ ?

भित्री लुगा त दैनिक फेर्छु । हप्तामा दुई वटा पाइन्ट फेरेर लगाउँछु । टिसर्ट दुई–दुई दिनमा फेर्छु । गर्मीमा टिसर्ट, सर्टजस्ता माथिका लुगा दैनिक फेर्छु ।

कपडा नेपालमै किन्नुहुन्छ कि विदेशमा ?

वर्षमा १–२ पटक विदेश जाने काम परिरहन्छ त्यसैले विदेशमै गएर धेरै कपडा किनिन्छ; नेपालमा त कमै किनिन्छ । धेरैजसो युरोप र भारत जाने भएकाले कपडा उतैबाट किनेर ल्याउँछु । नेपालमा किन्नुपर्दा पुतलीसडकमा केटा मानिसले किन्ने कपडा पसल छ, त्यहीं किन्छु । नेपालमा आफूले खोजेको साइज नै पाउन मुश्किल पर्छ । ज्यान ठूलो भएकाले जुनसुकै लुगा त शरीरलाई फिट नै हुँदैनन् । त्यसैले विदेश गएको मौकामा किनिहाल्छु ।

उसोभए, प्रायः विदेशी ब्रान्डकै कपडा लगाउनुहुन्छ ?

विदेशी ब्राण्डकै बढी किनिन्छ ।

कस्तो रङका कपडा मन पर्छन् ?

उज्यालो रङका लुगा मन पर्छन् । प्रायः आकाशे, गुलाबी, सेतो रङका सर्ट र टिसर्ट लगाउँछु । शरीरको माथिल्लो भागमा लागाउने कपडा कालो रङको मन पर्दैन । पाइन्ट कालो, खैरो, नीलो (डार्क) रङको मन पर्छ । बढी त कालै रङको पाइन्ट लगाउँछु ।

चिकित्सकीय पेशाका व्यक्तिले ‘ड्रेस–सेन्स’ मा कत्तिको ध्यान दिनुपर्छ ?

ध्यान दिनैपर्छ । कतिपयले ध्यान दिएको देखिँदैन । तर, चिकित्सकीय पेशा अँगालेका व्यक्तिले ‘ड्रेस–सेन्स’ मा ध्यान दिनु अत्यन्तै जरुरी छ ।

चिकित्सकहरूले कस्ता पोशाक लगाउनु उचित ठान्नुहुन्छ ?

चिकित्सकीय पेशा अँगालेका व्यक्तिले आफ्नो उमेर र रुचिअनुसार भद्र देखिने किसिमका पोशाक लगाउनु आवश्यक हुन्छ । हेर्दै उत्ताउलो किसिमका पोशाक लगाउनु उचित हुँदैन । अझ डाक्टरले त शारीरिक अङ्ग नै देखिने किसिमले पोशाक लगाउनु हुँदैन । शारीरिक अङ्ग देखाउँदा विपरीतलिङ्गी उत्तेजित हुने अवस्था आउन सक्छ । अङ्ग देखाएर बिरामी जाँच्दा बिरामीमा असहजता उत्पन्न हुन सक्छ । चिकित्सकले शरीर ढाक्ने किसिमले पोशाक लगाउनुपर्छ । यसमा सचेत हुनु आवश्यक छ ।

जुत्ताको पनि कुरा गरौं, जुत्ता कस्तो मन पर्छ ?

धेरैजसो छालाको जुत्ता लगाउँछु । तुना बाँध्नु नपर्ने किसिमका, हल्का जुत्ताा लगाउँछु ।

वर्षमा कति जोर जुत्ता किन्नुहुन्छ ?

जुत्ता त ३–४ वर्षमा किनिन्छ । ३–४ वर्ष टिक्ने बलिया जुत्ता किन्छु । जाडोमा लगाउने जुत्ता गर्मीमा लउँदिन । जाडोमा बाक्ला मोजा लगाउनुपर्ने भएकाले ठूलो जुत्ता लगाउँछु र गर्मीमा पातला मोजा लगाउनुपर्ने भएकाले साना साइजका जुत्ता लगाउँछु ।

जुत्ताचाहिँ कति जोर छन् तपाईंसँग ?

छालाका तीन जोर र कपडाका दुई जोर छन् । त्यस्तै, गर्मीमा लगाउने छालाकै एक जोर र घरमा लगाउने एक जोर सामान्य किसिमका गरी दुई जोर चप्पल छन् ।

हाेलिस्टिक मासिकबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर