newskoseli.Com

कोरोना सन्त्रास : संसारभर के–के भयाे ? तथ्यांकसहित संक्षिप्त रिपाेर्ट

सन् २०१९ को अन्तिम महिनाको सुरुआतसँगै चीनबाट देखा परेको प्राणघातक कोरोना भाइरसको सङ्क्रमण अझै नियन्त्रणमा आएको छैन । पछिल्लो समय कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ‘कोभिड– १९’ नामकरण गरेको छ । यसले विश्वस्तरमै महामारी फैलन सक्ने भएकाले त्यसैअनुरूप तयार र सतर्क रहन डब्ल्यूएचओले एड्भाइजरी (चेतावनी) नै जारी गरेको छ ।

यी पङ्क्ति लेखिँदासम्म विश्वका ८१,००७ जना यसबाट सङ्क्रमित भैसकेका छन् । यीमध्ये ३०,१६७ जनाको सफल उपचार भएको छ र २,७६५ जनाले यसबाट ज्यान गुमाएका छन् । डब्ल्युएचओले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार कोभिड– १९ का सङ्क्रमितमध्ये ४८,०६९ जना यतिबेला पनि उपचाररत (एक्टिभ केसेज) छन् । यीमध्ये ३९,२१९ जनाको स्वास्थ्य स्थिति सामान्य (मिड कन्डिसन) छ भने ८,८५० जनाको अवस्था गम्भीर (सिरियस वा क्रिटिकल) छ । कोभिड– १९ का सङ्क्रमित (उपचाररत बिरामी) मध्ये ८२ प्रतिशतको अवस्था सामान्य छ भने १८ प्रतिशतको अवस्था गम्भीर छ ।

त्यस्तै, कोभिड– १९ को सङ्क्रमणमा परेका ३२,९३२ जनाको उपचार पूरा वा बन्द भएको छ । यीमध्ये ३०,१६७ जना सफल उपचारपछि घर फर्किसकेका (रिकभर्ड÷डिस्चाज्र्ड) छन् भने २,७६५ जनाको निधन भैसकेको छ । उपचार बन्द भएकामध्ये ९२ प्रतिशत स्वास्थ्यलाभ गरी घर फर्केका छन् भने ८ प्रतिशतको निधन भएको छ ।

राष्ट्रगत हिसाबले हेर्दा छिमेकी मित्रराष्ट्र चीनमा कोभिड– १९ का ७८,४७० जना सङ्क्रमित फेला परेका छन् । यीमध्ये ४०६ जना भर्खरै फेला परेका नयाँ सङ्क्रमित हुन् । कोरोनाकै कारण चीनमा हालसम्म २,७६७ जनाको निधन भैसकेको छ । यीमध्ये ५२ जनाको हालै मात्र निधन भएको हो । चीनमा मात्रै २९,९४० सङ्क्रमितको उपचार सफल भैसकेको छ भने ८,७४५ जना उपचाररत गम्भीर बिरामी छन् ।

त्यस्तै, दक्षिण कोरियामा कोभिड– १९ का १,१४६ जना सङ्क्रमित फेला परेका छन् । यीमध्ये १३ जनाको निधन भैसकेको छ भने २२ जना सफल उपचारपछि घर फर्केका छन् र १८ जना उपचाररत गम्भीर बिरामी छन् । यसैगरी, ‘डाइमण्ड प्रिन्सेज’ नामक पानीजहाजमा फेला परेका कूल ६९१ सङ्क्रमितमध्ये ४ जनाको निधन भएको छ भने १० जनाको उपचार सफल हुनुका साथै ३६ जना उपचाररत गम्भीर बिरामी छन् ।

यो सङ्क्रमणले अरु राष्ट्रहरूलाई पनि आक्रान्त तुल्याएको छ । हालसम्म इटालीमा ३२३, जापानमा १६१, इरानमा ९५, सिङ्गापुरमा ९१, हङकङमा ८५, अमेरिकामा ५७, थाइल्याण्डमा ४३, ताइवानमा ३३, बहराइनमा २३, अस्ट्रेलियामा २२, जर्मनीमा १८, भियतनाममा १६, फ्रान्समा १४, बेलायत र दुबईमा १३–१३, क्यानडा र कुवेतमा ११–११, मकाउमा १०, स्पेनमा ९, इराकमा ५, ओमनमा ४, भारत र फिलिपिन्समा ३–३, अस्ट्रिया, इजरायल र रसियामा २–२ तथा अफगानिस्तान, अल्जेरिया, बेल्जियम, कम्बोडिया, क्रोएशिया, इजिप्ट, फिनल्याण्ड, लेबनान, नेपाल, श्रीलङ्का, स्विडेन, स्विट्जरल्याण्ड र ब्राजिलमा १–१ जना सङ्क्रमित फेला परेका छन् ।

कोभिड– १९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चीन, कोरिया र डाइमण्ड प्रिन्सेज बाहेक इरानमा १६, इटालीमा ११, जापान र हङकङमा २–२ तथा ताइवान, फ्रान्स र फिलिपिन्समा १–१ जना देखिएको छ । यसरी कोभिड– १९ को सङ्क्रमणबाट हालसम्म विश्वका २,७६५ जनाको ज्यान गइसकेको छ ।

झन्डै चार महिनाको अवधिसम्म पनि नियन्त्रणमा आउन नसकी दिन–प्रतिदिन विस्तारित हुँदै र क्रमशः महामारीको रूप लिँदै गएको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणबाट हालसम्म नेपाल र नेपाली जोगिन सफल हुनु सुखद् विषय हो । नागरिक सचेतना, सरकारी प्रयास र भौगोलिक–प्राकृतिक अनुकूलताकै कारण नेपाल र नेपाली यस्तो गम्भीर सङ्क्रमणबाट जोगिएको मान्नुपर्छ ।

सुरुआतताका नै एक जनामा देखा परेर उपचार सफल भए बाहेक नेपाली नागरिक हालसम्म जोगिएकामा मात्र सन्तोष मानेर बसिरहने अनि सचेतना र सक्रियतामा बेवास्ता गर्ने हो भने सधैं जोगिइएला भन्ने कुनै ज्ञारेन्टी छैन । अतः नागरिक र सम्बद्ध सबै पक्षले उच्च सतर्कता अपनाऔं, सबै उपाय अवलम्बन गरौं र जोखिमका सबै सम्भावना रोकौं । कोभिड– १९ बाट अहिलेसम्म त बच्यौं, सधैं बचौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर