newskoseli.Com

‘कोरोना महामारी अझ भयावह हुन सक्छ’ : अमेरिकी स्वास्थ्यविज्ञ

कोरोनाभाइरसको महामारीबाट आक्रान्त विश्वका १ सय १४ मुलुकहरुभित्र कथित महाशक्ति राष्ट्र अमेरिका समेत पर्दछ छ । ३१ जनाको मृत्यु र हजारभन्दा बढी मानिसहरु संक्रमित भैसकेको अमेरिकाका वरिष्ठ स्वास्थ्यकर्मी एन्थोनी फाउचीले कोरोनाभाइरसको संक्रमणले अमेरिकामा अझै ठूलो महामारी फैलने सक्ने चेतावनी दिएका छन् ।

अमेरिकास्थित एनआईएच नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजेजका निर्देशक समेत रहेका फाउचीले भनेका छन्– ‘कोरोनाभाइरस संक्रमणको संख्या अझै बढेर जानेछ र स्थिति अहिलेभन्दा झनै खराब हुनेछ ।’

यस्ताे छ उनकाे भनाइ

नोबोल कोरोनाभाइरसको संक्रमण, रोकथामका उपाय तथा यस विरुद्धको खोपको विकास गर्न भइरहेका प्रयास उनी भन्छन्– ‘प्रत्येक वर्ष हामीले भोग्ने गरेका मौसमी फ्लुका कारण हुने मृत्युदर ०.१ प्रतिशत हुने गरेको छ । अहिले देखिएको कोभिड– २०१९ का कारण हुने विश्वव्यापी मृत्युदर औसत ३ प्रतिशत छ । पहिले यो २ प्रतिशत रहेकामा अहिले बढेर ३ प्रतिशत पुगेको छ ।

लक्षण देखिएका वा नदेखिएका संक्रमणका सबै केसहरुलाई गणना गर्ने हो भने सम्भवतः मृत्युदरको संख्या घटेर १ प्रतिशत हाराहारीमा आउनेछ । यो भनेको मौसमी फ्लुभन्दा १० गुना बढ्ता घातक हो । हामी यसप्रति उदासीन रह्यौं र नियन्त्रण एवं घटाउने उपायबारे कडा र आक्रामक नीति लिएनौं भने यो संख्या धेरै माथि जानेछ । त्यो दसौं लाखौं पनि पुग्न सक्नेछ ।

एन्थोनी फाउची

यसलाई नियन्त्रण गर्ने हो भने हामीले हाम्रो आदत र बानी–व्यहोराहरुमा परिवर्तन ल्याउनैपर्छ । हामी सबैले यो कुरा अनुमान गर्नैपर्छ कि ढिलो–चाँडो यो संक्रमणले हामीलाई पनि आक्रमण गर्ने नै छ । त्यसकारण हामी भन्दैछौं कि यसलाई नियन्त्रण गर्ने र यसको विस्तार रोक्ने कार्यलाई अझ धेरै आक्रामक र पूर्ण प्रयासका साथ काम गर्नैपर्छ ।

केस नै छैन, केकाे तयारी ?

मानिसहरु सोध्ने गर्दछन्, तपाईंहरु किन यस्तो गर्न चाहनुहुन्छ जबकि हामीकहाँ संक्रमणको कुनै केस नै छैन ? यो त त्यतिबेला मात्रै गर्ने हो, जतिबेला हामीकहाँ संक्रमण आइपुग्छ । हामी आशा गर्छौं कि मौसम तातो हुँदै जाँदा कोभिड– १९ को संक्रमण घट्दै जानेछ । इन्फ्लुन्जाका भने प्रत्येक वर्ष मार्च, अप्रिल, मे लाग्दै जाँदा घट्दै जाने गरेको देख्ने गरेका छौं । यही कुरा रुघा–खोकी लगाउने अन्य खालका कोरोनोभाइरस (जो अहिलेको नोबल कोरोनाभाइरस होइन) को हकमा पनि यही देखिन्छ । त्यसकारण, यो नोबल कोरोनाभाइरसको हकमा पनि त्यही हुन सक्छ भनेर सोच्नु अन्यथा होइन ।

तर म जोड दिएर भन्न चाहन्छु, अहिलेको नयाँ नोबल कोरोनाभाइरसले के गर्छ भन्ने हामीलाई अहिलेसम्म थाहा छैन । खालि हामी मौसममा तापक्रम बढ्दै जाँदा यसको संक्रमण घट्दै जानेछ भन्ने आशा र अनुमान मात्रै गर्न सक्छौं । तर, हामी त्यो अनुमानको आधारमा मात्रै अगाडि बढ्न सक्दैनौं । हामीले अनुमान गर्नैपर्छ कि यो झन् खराब, अझ खराब र फेरि पनि खराब हुँदै जान पनि सक्छ ।

जब यसको संक्रमण देखा पर्न थाल्छ, त्यो फैलिएर पूरै समाजलाई संक्रमित पार्न सक्छ । त्यो अवस्थामा यसको संक्रमणको संख्या बढेर कति पुग्न सक्छ, हामी भन्नै सक्दैनौं । हामीले अँगाल्ने तरिका र यसको संक्रमणलाई पछ्याउने तरिकामा यो भर पर्छ । जब हामीसँग त्यो पर्याप्त मात्रामा हुन्छ, त्यति बेलासम्म यो ठूलो महामारी बनिसकेको पनि हुन सक्छ । त्यो स्थितिमा यसलाई हामीले सही र प्रभावकारी ढंगले नियन्त्रण गर्नु सम्भव हुँदैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर