newskoseli.Com

कोरोनाभाइरस विरूद्धको भ्याक्सिन परीक्षण सुरू

कोरोनाभाइरस (कोभिड– १९) को उद्गमस्थल मानिएको चीनले सो भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सुरु गरेको छ । विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध भ्याक्सिन तयार गरी चीनले ‘क्लिनिकल परीक्षण’ सुरु गरेको हो ।

यसअघि अमेरिकाले पनि कोरोनाविरुद्धको भ्याक्सिन तयार भई परीक्षण सुरु भएको जनाएको थियो । अमेरिकाले परीक्षण सुरु भएको बताएको १९ घन्टापछि चीनले समेत भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु गरेको हो । विश्वका दुई ठूला अर्थतन्त्र– अमेरिका र चीनबीचको प्रतिस्पर्धाका कारण विश्वबजारमा कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै उपलब्ध हुने आशा जागेको छ । तर, भ्याक्सिनको परीक्षण सकेर आवश्यक मात्रामा बजारमा पठाउन भने अझै १२ देखि १८ महिनासम्म लाग्न सक्ने चीनले बताएको छ ।

चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल चेन वेई र उनको टिमले कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाएको हो । इबोला भ्याक्सिन बनाएको अनुभव र स्थानीय कम्पनीसँगको सहकार्यमा कोरोनाको सुरुआत भएको वुहानमै पुगेर मेजर वेईको टिमले फार्मेसी तथा औषधि–विज्ञानमा आधारित भएर कोरोना भ्याक्सिनसम्बन्धी अनुसन्धान गरेको हो ।

उत्पादन प्रक्रिया र गुणस्तर नियन्त्रण समीक्षाका आधारमा उनीहरुले भ्याक्सिनको डिजाइन, संरचना र उत्पादनलाई निकै छिटो सकाएको सीसीटीभीले उल्लेख गरेको छ । वेईको टिमले उत्पादन गरेको भ्याक्सिनको क्लिनिकल समीक्षा दर्ता पारित भएसँगै त्यसले क्लिनिकल परीक्षणको अनुमति पाएको थियो । कोरोनाविरुद्धको सो भ्याक्सिन सुरक्षित, गुणस्तरीय, उपयोगी र ठूलो मात्रामा उत्पादनका लागि आन्तरिक नीति–नियम र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको जनरल वेईको टिमले दावी गरेको छ ।

कोरोना संक्रमण सुरु भएसँगै विश्वका दर्जन देश भ्याक्सिन पत्ता लगाउने दौडमा निस्किए तापनि हालसम्म चीन र अमेरिकाले मात्रै सफलता पाएको दावी गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर