newskoseli.Com

लकडाउन हट्दा र खुकुलो हुँदा पालना गर्नैपर्ने ११ नियम (सूचीसहित)

डेढ महिना लामो लकडाउनपछि सरकारले बिस्तारै लकडाउन खुकुलो पार्दै लाने र क्रमशः हटाउने गृहकार्य सुरू गरेको छ । लकडाउन खुकुलो पारिएको वा हटाइएको अवस्था कोरोना महामारीका निम्ति अझ बढी खतरनाक र अनिष्टकारी हुन सक्ने सम्भावना पनि उत्तिकै छ । किनभने, अहिले पनि विश्वभर र नेपालमा समेत कोरोनाभाइरसको संक्रमण नियन्त्रण भएको छैन, कुनै कमी समेत आएको छैन बरू संक्रमितकाे संख्या दिनानुदिन बढिरहेकाे छ । हालसम्म कोरोनाका कुनै औषधि, भ्याक्सिन र उपचार समेत पत्ता नलागेको अवस्था छ ।

सबै नागरिक घरघरमै बस्दा र उद्योग, व्यवसाय, कार्यक्रम, समारोह, विद्यालय, विश्वविद्यालय, यातायात, जनसम्पर्कजस्ता सबै पक्ष र व्यवहार बन्द गरिरहँदा संक्रमणको विस्तार रोक्न निकै ठूलो सघाउ पुगिरहेको छ । तर, यस्तो स्थिति (लकडाउन) धेरै लामो समय र अनिश्चित/अनन्तकालसम्म लम्ब्याइरहनु पनि सम्भव हुने र व्यावहारिक कुरा होइन । यसर्थ, क्रमशः खुकुलो पार्दै लगेर लकडाउन हटाउने अवस्थामा अनिवार्यतः पालना गर्नैपर्नै केही नियम, निर्देशन र मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको छ ।

के–के हुन् त ती नियम र मापदण्ड ?

१. सबै सार्वजनिक स्थल तथा भवनहरूमा हात धुने साबुन र पानीको व्यवस्था गर्नुपर्ने ।

२. सार्वजनिक भवन प्रवेश गर्दा अनिवार्यतः साबुन–पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाउने र अनुगमन गर्ने ।

३. कम्तिमा १ मिटरको दुरी पालनालाई अनिवार्य गरेर व्यापक प्रबर्द्धन र अनुगमन गर्ने ।

४. खोक्दा वा हाछ्युँ गर्दा रूमाल वा टिस्युपेपरले मुख छोप्ने । यो सम्भव नभएमा कुहिनाको प्रयोगलाई प्रवर्द्धन गर्ने ।

५. रूघाखोकी वा कुनै श्वास–प्रश्वासको समस्या भएका व्यक्तिहरूले सकभर अरूको सम्पर्कमा नआउने, आउनै परेको खण्डमा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने । कपडाको मास्क पनि प्रयोग गर्न सकिने तर यसप्रकारको मास्क प्रयोग गरेपश्चात् साबुन–पानीले राम्ररी धोएपछि मात्रै पुनः प्रयोग गर्नुपर्ने ।

६. अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने कार्यालयहरूलगायत अन्य क्षेत्रमा हुने कार्य–निरन्तरताका लागि सकेसम्म भर्चुअल प्लेटफर्म प्रयोग गर्ने ।

७. व्यक्तिहरूको शरीरलाई छोएर सेवा दिनुपर्ने (जस्तै– स्वास्थ्य सेवा) अवस्थामा सेवा प्रदायकले अनिवार्यरूपमा मास्क र पञ्जा लगाउने तथा साबुन–पानीले हात धुने व्यवस्था मिलाउने ।

८. कुनै पनि सार्वजनिक स्थानमा ७ जनाभन्दा बढी मानिसहरु भेला नहुने र हुनैपर्ने अवस्था भएमा स्थानीय निकायको स्वीकृति लिएर कम्तिमा १ मिटरको दुरी कायम गर्ने र सबैलाई मास्कको प्रयोग गर्ने व्यवस्था मिलाउने ।

९. सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्थामा एक पंक्तिको सिटमा एक जना मात्रै रहने व्यवस्था मिलाउने, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्क प्रयोग गर्ने व्यवस्था मिलाउने ।

१०. एक जिल्लाबाट अर्को जिल्लामा अत्यावश्यक ढुवानी र अत्यावश्यक सार्वजनिक कार्यका लागि मात्रै आवत–जावतको अनुमति दिने तथा सवारी साधनहरूमा रहेका व्यक्तिहरूको स्क्रिनिङ गर्ने र सवारी साधनको निर्मलीकरण गर्ने व्यवस्था मिलाउने ।

११. कृषि उत्पादनले समग्र अर्थतन्त्र र जनजीवनमा विशेष महत्त्व राख्ने भएकाले कृषि उत्पादनका कार्यलाई प्रमुख प्राथमिकताका साथ सजगता तथा यहाँ उल्लेखित मापदण्डहरू अनिवार्यरूपमा पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने । स्थानीय जनप्रतिनिधिले यसको अनुगमन गर्ने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर