newskoseli.Com

प्रयाेग गर्नाेस्, स्वस्थ रहनाेस् : प्रकृतिका यी ४ अनुपम उपहार !

चियाको ‘राजा’ : ‘सिल्भर टिप्स’

चिया विभिन्न तरिकाले बनाइन्छ, जसमध्ये ‘सिल्भर टी’ को लोकप्रियता बढिरहको छ, पछिल्लो समय । यो ‘सिल्भर–टिप्स’ का नामले पनि चिनिन्छ । ‘सिल्भर–टिप्स’ पानीमा हालिसकेपछि सेतो रङ्गको देखिन्छ । यो एकदमै वासनादार हुन्छ ।

चियाको मुन्टाको सुइरोलाई नै सामान्य प्रशोधनपछि चियाका रूपमा प्रयोग गरिन्छ । यस्तो चिया बोटबाट टिपेर ल्याइएको सुइरोलाई करिव पाँच घन्टापछि नै चियाका रूपमा प्रयोग गर्न सकिन्छ । यो ‘ग्रीन–टी’ भन्दा फरक हो ।

यसमा ‘क्याटाचिन’, ‘ट्राइटरपिन्स’, ‘एन्टिअक्सिडेन्ट’ जस्ता तŒव पाइन्छन् । यसमा पाइने तत्त्वले रगत सफा गर्छ, जसका कारण सुगरलगायतका कयौं रोगबाट बच्न सकिन्छ । यसले रक्तचाप सन्तुलनमा राख्न पनि सहयोग गर्छ, जसका कारण हृदयाघातको सम्भावनाबाट समेत बच्न सकिन्छ ।

पानी उम्लिएर करिव पाँच मिनेट सेलाएपछि त्यही पानीमा चियाको सुइरो डुबाएर पटक–पटक पानी थप्दै पिउन सकिन्छ । ‘सुइरे चिया’ दैनिक करिव आधा लिटर पिउन सकिन्छ ।

यस्तो चिया जुन समयमा पनि पिउन सकिन्छ । ‘चियाको राजा’ का रूपमा मानिने सुइरोबाट बनेको चिया बेलुका सुत्ने बेलामा पिइए आनन्दसँग निद्रा लाग्नुका साथै मस्तिष्कको सक्रियतामा पनि सहयोग मिल्छ ।

तीतो मेथीको मिठो गुन

‘मेथी’ को तीतो दाना निकै गुणकारी छ । पहेंलो देखिने मेथीको दाना मसलाको रूपमा हाम्रो भान्सामा छिर्छ । मेथीको सागको तरकारी पनि खाने प्रचलन छ । चीनमा परम्परागत प्राकृतिक औषधिका रूपमा प्रयोग गरिने मेथी निकै प्रसिद्ध छ । मसलाका रूपमा प्रयोग गरिने यसको दाना आजकल धेरै मुलुकमा लोकप्रिय हुँदै गएको पाइन्छ ।

मसलाका रूपमा प्रयोग गरिने मेथीको दानालाई छाला तथा अरु विभिन्न रोगको उपचारका निम्ति समेत प्रयोग गरिँदो रहेछ । साबुन र स्याम्पुजस्ता कस्मेटिक्स सामग्रीमा समेत यसको प्रयोग गरिएको पाइन्छ । मेथी प्रयोग भएका कस्मेटिक्स आइटमको प्रयोग छालासम्बन्धी समस्याबाट छुटकारा पाउन मात्र होइन, छाला सुन्दर बनाउन समेत त्यत्तिकै प्रभावकारी मानिन्छ ।

मेथीको दानामा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसमा आइरन तथा म्याग्नेसियमजस्ता खनिज पदार्थ समेत पाइन्छ । अध्ययनअनुसार मेथीको दानाको प्रयोगले रगतमा चिनीको मात्रालाई सन्तुलित बनाएर मधुमेहको समस्याबाट समेत बच्न सहयोग पुर्‍याउँछ ।

मेथीको दाना तथा सागको नियमित उपभोगले कोलेस्टेरोलको मात्रा सन्तुलन गर्न सहयोगी भूमिका खेल्छ । शरीरको कुनै भाग सुन्निए त्यसलाई कम गर्न समेत यो गुणकारी छ । यसले भोकलाई सन्तुलित गर्न समेत सहयोग पुर्‍याउँछ ।

खाद्य पदार्थमा मेथीको दाना हालेर खानाले स्तनपान गराइरहेका महिलाको दूधको मात्रा बढाउन समेत सहयोग मिल्छ । यसले शारीरिक मजबुती बढाउँछ । तोरीको तेलमा मेथी फुराएर बालबालिकालाई लगाइदिने परम्परा पनि छ । पुरुषले सन्तुलितरूपमा मेथीको प्रयोग गर्नाले टेस्टोस्टेरोन हर्मोनको मात्रा बढन गई यौन क्षमता वृद्धि गर्न समेत सहयोग पुग्छ ।

घरै मगमगाउने बिरुवा

नेपालमा ‘मसलाको रुख’ भनेर चिनिने ‘युक्यालिप्टस्’ को उद्गमस्थल अस्ट्रेलिया रहेछ । मुख्यतः तराई क्षेत्रमा पाइने सेतो बोक्रा देखिने यो रुखपातलाई प्रशोधन गरी सुगन्धित तेल तयार पारिन्छ । ‘स्टिम डिस्टिलेसन’ विधिबाट यसको पातलाई प्रशोधन गरिन्छ । हेर्दा रङ्गहीन देखिने ‘युक्यालिप्टस’ को तेल अत्यन्तै सुगन्धित हुन्छ । यस्तो तेललाई अङ्ग्रेजीमा ‘इसेन्सियल ओयल’ भनिन्छ ।

परम्परागत चीन, भारत, ग्रीसजस्ता मुलकमा ‘इसेन्सियल ओयल’ प्रसिद्ध भएको पाइन्छ । अहिले पनि यसको प्रयोग लोकप्रिय देखिन्छ । यसको फाइदाबारे पनि जानिहालौं–

फाइदाहरू

यसको सुगन्धित तेल घरमा छर्कनाले घरै सुगन्धित हुन्छ । लुगा–कपडामा पनि अत्तरका रूपमा यसको तेल छर्कन सकिन्छ । ‘युक्यालिप्टस’ को तेल प्रयोग गर्नाले यसमा हुने ‘एन्टीमाइक्रोबियल’ तत्त्वका कारण जीवाणु नियन्त्रणमा सहयोग पुग्छ । यसमा ‘युक्यालिप्टोल’ अल्कोहलको मात्रा हुन्छ, जसको सुगन्धले जीवाणु नियन्त्रित हुन्छ ।

घर वरिपरि यसको बिरुवा रोप्नाले घरमा लामखुट्टे, कीरा, भुसुनाजस्ता जीवाणु आउने समस्याबाट मुक्ति मिल्छ । घरको सुगन्धको लागि एकातर्फ यसको तेल प्रयोग गर्न सकिन्छ भने अर्कातर्फ ‘युक्यालिप्टस’ को बिरुवा रोप्न सकिन्छ ।

यसको तेल बढी मात्रामा प्रयोग गर्नु हुँदैन । धेरै प्रयोग गर्दा घातक पनि हुन सक्छ । सामान्यतः घरमा स–साना बालबालिका, पाको उमेरका व्यक्ति, दीर्घरोगी भएको अवस्थामा यसको तेल प्रयोग गर्दा निकै सचेत हुनुपर्छ ।

शरीर स्वस्थ राख्ने बेसार

बेसार हाम्रो भान्सामा नभई नहुने मसला हो । पहेंलो रङ्गको बेसारको प्रयोग भान्सामा मात्र सीमित हुँदैन । बेसारमा मुख्यतः ‘कुर्कुमिन’ नामक तत्त्व पाइन्छ । यसले ‘एन्टिअक्सिडेन्ट’ को काम गर्छ । एन्टिअक्सिडेन्टले व्यक्तिको पाचन प्रक्रिया मजबुत बनाउन सहयोग गर्छ ।

बेसारको नियमित उपभोग गर्नाले शरीरमा भएका विकार तत्त्वलाई बाहिर निकाली शरीरको रोग प्रतिरोधात्मक क्षमता समेत मजबुत बनाउँछ । यसबाट क्यान्सरलगायतका रोग लाग्ने सम्भावनाबाट बच्न सकिन्छ । यसमा पाइने तŒवका कारण बेसारको उपभोग गर्नाले सुन्निएको शरीरको भाग कम हुँदै जान्छ ।

रुघा–खोकी लागेको अवस्थामा पानीमा पकाएर बेसार सेवन गर्नाले यसमा हुने कुर्कुमिन तत्त्वका कारण घाँटी सुन्निएको कम हुनुका साथै छातीमा जमेर बसेको खकार समेत बाहिर निकाल्न मद्दत पुग्छ । अनुहारमा बेसारको धुलो लगाउनाले यसमा हुने विभिन्न भिटामिन तत्त्वका कारण अनुहारको छाला चम्किलो बनाउन सहयोग मिल्छ ।

बेसारलाई तरकारी, दूध तथा विभिन्न परिकारमा हालेर सेवन गर्न सकिन्छ । बजारमा बेसारलाई प्रशोधन गरी बनाइएको ‘एक्स्ट्रयाक्ट’ नामक सप्लिमेन्ट समेत क्याप्सुलका रूपमा पाइन्छ । वयस्क व्यक्तिले दैनिक आधा चम्चा बेसार सेवन गर्नु स्वास्थ्यवर्द्धक हुन्छ । बेसार दक्षिण एशियाली मुलुकमा बढी पाइनुका साथै यसै क्षेत्रमा बढी प्रयोग हुने गरेको पाइन्छ ।

हाेलिस्टिकबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर