newskoseli.Com

के भन्छिन् महाभियोग खेपिरहेकी ब्राजिली राष्ट्रपति डिल्मा रुसेफ ? (उनको भाषण)

म तपाईंहरु र ब्राजिलका समग्र जनतालाई यो कुरा भन्न चाहन्छु कि सिनेटले ममाथि महाअभियोगको प्रक्रिया सुरु गरेर आदेश दिएको छ । यसो भएपछि मलाई अधिकतम १ सय ८० दिनका लागि पदबाट बर्खास्त गरेको मानिन्छ ।

मलाई ब्राजिलका ५ करोड ४० लाखभन्दा पनि बढी जनताले राष्ट्रपतिजस्तो पदमा निर्वाचित गरे । र, आज ब्राजिलको जनतन्त्रको यस निर्णायक अवस्थामा म तपाईंहरुमाझ सम्बोधन गरिरहेकी छु ।

महाअभियोगको प्रक्रियाले मलाई प्राप्त भएको जनादेश दाउमा परेको छ । यस प्रक्रियाले ब्राजिलका आकांक्षा र संविधानको मर्यादा पनि दाउमा परेका छन् । विगत १३ वर्षदेखिको हाम्रो उपलव्धि देशका गरिब जनताका लागि काम गरेको र साथै मध्यमवर्गको हितहरु सबै दाउमा परेका छन् ।

बच्चाहरुको सुरक्षा, विश्वविद्यालय र यहाँको शिक्षासँग सम्बन्धित विद्यालयसम्म युवाहरुको पहुँच पनि दाउमै परेका छन् । यति मात्र होइन, न्यूनतम श्रमको अधिकार, तममाम जनताको हेरचाह गर्ने चिकित्सकको अधिकार, आफ्नो घर बनाएर बस्न चाहने जनताका अधिकार सबैसबै दाउमा परे । अझ यति मात्र कहाँ हो र ? कतिपय देशका भविष्य र उद्देश्यहरु सबै दाउमा परेका छन् ।

सिनेटको आउनुभन्दा पहिले म तपाईंहरुलाई एउटा तर्क राख्न चाहन्छु र भन्छु कि धोखाधडी, षड्यन्त्रको सहारा लिएर महाअभियोगको कारबाही सुरु गर्नुको कुनै तुक छैन । जहिले म निर्वाचित भएँ, त्यही बेलादेखि प्रतिपक्षीहरुमा असन्तोष पैदा भएको हो । उनीहरुले पुनः मतगणना गर्न दबाब दिए । र, चुनाव रद्द गर्न समेत भरपूर प्रयास गरे । तर, सफल भएनन् । आज मेराविरुद्ध महाअभियोगको षड्यन्त्र बुन्न थाले । यिनीहरुले देशको राजनीतिक अस्थिरतालाई स्थायी बनाइदिए । र, अर्थव्यवस्थालाई पनि खतरनाक स्थानमा पुर्याउन उनीहरु लागिपरेका छन् ।

आज विपक्षीहरुलाई सबैथोक चाहिएको छ, जुन चुनावबाट हासिल हुन्छ । उनीहरुको नियत प्रष्ट छ, उनीहरु चाहन्छ मैले शासन नगरुँ र देशमा यस्तो वातावरण बनोस्, जहाँ उनीहरुका निम्ति सत्ता परिवर्तनका लागि पर्याप्त वातावरण मिलोस् । जहाँ निर्वाचित राष्ट्रपतिलाई यस्तो कुनै अपराधको आरोपमा महाअभियोगको शिकार बनाइन्छ, जुन उसले गरेकै छैन । जनतान्त्रिक विश्वमा यस कारबाहीलाई महाअभियोग होइन, सत्ताच्युतको कारबाही भनिन्छ ।

मैले त्यस्तो कुनै अपराध गरेकी छैन, जसकारण महाअभियोग खेपौं । कुनै विदेशी बैंकमा मेरा खाता नै छैनन्, न मैले कहिल्यै घुस लिएकी छु । न त ममाथि कुनै त्यस्तो आरोप नै लागेको छ । बरु त्यसका विपरीत भ्रष्टाचारविरुद्ध कदम उठाएँ । त्यसैले कुनै निर्दोषलाई कानुनको कठघरामा उभ्याउनुभन्दा ठूलो अन्याय केही हुन सक्दैन ।

अन्याय भनेको त्यस्तो चिज हो, जसको कुनै क्षतिपूर्ति नै हुँदैन । आज जुन महाअभियोगको नाटक चलिरहेको छ, यसैकारण हो कि म राष्ट्रपतिको रुपमा कुनै ब्ल्याकमेलका अगाडि झुकिनँ । हुन सक्छ, मैले कहीं गल्ते गरें होला । तर, अपराध गरेकी छैन । मैले जे गरें ती वैधानिक, सही वा आवश्यक कदम थिए । जुन कुनै पनि सरकारले गर्नु जरुरी मान्दछन् ।

मभन्दा अघि जो–जो ब्राजिलका राष्ट्रपति भए, उनीहरुले पनि यी कदम चालेकै छन् । यदि उनीहरुको समयमा ती अपराध थिएनन् भने ती आज पनि अपराध होइनन् । विरोधीहरुले ममाथि यस्तो आरोप लगाएका छन्, जहाँ मैले ६ अतिरिक्त राज्यादेश र छ अतिरिक्त ऋणादेश प्रकाशित गरें । र, यो काम गर्दा मैले बजेटको कानुन तोडें । यी सब आरोपहरु आधारहीन छन् किनभने राज्यादेशहरुलाई कानुनसम्मत अधिकार प्राप्त थिए । आजसम्म कुनै पनि जनतन्त्रमा बजेट विनियोजनको वैधानिक कारबाहीका कारण कोही निर्वाचित राष्ट्रपतिको जनादेश कुण्ठित गरिएको छैन । यदि त्यस्तो हुने भए ब्राजिल नै पहिलो देश हुने छ ।

मेरो सरकार ढाल्नुका पछाडि उनीहरुको एउटै कारण छ कि मैले बनाएका योजनाहरुलाई मूर्त रुप दिन नसकुँ, जसकै लागि मलाई ५ करोड ४० लाख ब्राजिलियन जनताले चुनेका हुन् । आज देशमा ठूलो खतरा यो छ, जहाँ यस्तो सरकारद्वारा देश सञ्चालित हुन गैरहेको छ, जुन सरकारलाई जनताले कहिल्यै चुनेका छैनन् । र, यो उनीहरुको अधिकार होइन कि देशको चुनौतीलाई उनीहरुले समाधान गर्न सकून् । यो यस्तो सरकार हो, जुन षड्यन्त्र बुन्दै सत्तासम्म आइपुगेको छ ।

उनीहरुले मेरा विरुद्ध षड्यन्त्रपूर्वक महाअभियोगको योजना तयार पारे । त्यसैले म तपाईंहरुलाई के भन्न चाहन्छु भने म ब्राजिलको पहिलो निर्वाचित महिला राष्ट्रपति हुँ । र, मलाई यसमा गर्व छ । साथसाथै, यो जनादेशको म सम्मान गर्दछु । मेरा मतदाता र समग्र जनता तथा म यो अन्यायका विरुद्ध कार्यकालको समाप्ति अर्थात ३१ डिसेम्बर, २०१८ सम्म सबै वैधानिक साधनको उपयोग गरी यसको सामना गर्नेछु ।

मैले जीवनमा असह्य यातना भोगेकी छु, गम्भीर रोगको सामना गरेकी छु र अब यो अन्यायका विरुद्ध पनि सामना गर्नेछु । मैले जीवनभर जनतन्त्रका लागि संघर्ष गरेकी छु तर यस युवाजनतन्त्रका अगाडि आज संकट उत्पन्न भइरहेको छ । मेरो देशका जनता धेरै बुद्धिमान छन् र इतिहासका घटनाक्रमबाट शिक्षा लिएका पनि छन् । जनतन्त्रका लागि चल्ने संघर्षको कुनै पनि अन्तिम मिति हुँदैन । यो सत्ताच्युतका विरुद्ध लामो संघर्ष हुनेछ र जित हाम्रो हुनेछ ।

अनु. विजय पाैड्याल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर