स्वामीकार्तिक खापर गाउँपालिका– ३, जुकोटस्थित महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ ।
बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना बेच्ने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने– ‘बारीमा आएर किलोमा त कोही किन्दैनन् ।’
लाखौं मूल्यको स्याउ खेर जाने गरेको बताउँदै उनले बताए– ‘किन्न कोही आउँदैन, बजार निकै टाढा छ । भरियालाई बोकाएर पुर्याउन सकिँदैन । स्याउको कुँडो बनाएर वस्तुभाउलाई खुवाउनुपरेको छ ।’
राजधानी र देशका अन्य भागमा बहुमूल्य फलफूलका रुपमा चीरपरिचित स्याउको उत्पादनस्थलमा कृषकले भोगिरहेको समस्यासम्बन्धी यो खबर पदमबहादुर सिंहको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।