सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् ।
बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । ‘जनप्रतिनिधि’ बीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।
हंसपुर नगरपालिका, धनुषाका प्रमुख–उपप्रमुख बीचको विवादका कारण एक निर्दोष नागरिकको ज्यान समेत गएको छ । साउन २१ मा नगरपालिका कार्यालय सार्ने विषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षबीच झडप हुँदा बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भदौ १८ मा मण्डलको मृत्यु भएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
यस्तै, आफूजस्तै अर्का वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा आइतबार साँझ एक वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका– ८, ओखलढुंगाका वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।
थप जानकारीका लागि यो समाचार पढ्नोस्–
दुई वडाध्यक्षबीच कुटाकुटपछि एक वडाध्यक्ष पक्राउ