newskoseli.Com

उपेन्द्र यादव : सत्ता साझेदारीमा सधैं असफल…

समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । सो पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवम् कानुनमन्त्री उपेन्द्र यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको तयारीका लागि लगेको ठाडो प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकृत गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो ।

यादवले सरकारको नेतृत्व गरिरहेको दल नेकपासँग परामर्शै नगरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । ‘संविधानका कतिपय व्यवस्था मस्यौदाका दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थामा रहेको अन्तरविरोध मिलाउनुपर्ने भएको छ’, प्रस्तावमा भनिएको छ– ‘यिनै विषयमा सम्बोधन हुने गरी संवैधानिक कानुनविज्ञबाट नेपालको संविधानमा संशोधन, परिमार्जन र सुधार गर्नुपर्ने विषयमा अध्ययन गराई प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएकाले नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषय चहिचान गरी संशोधनको मस्यौदा पेस गर्न एक विज्ञ समिति गठन गर्नु आवश्यक छ ।’

प्रस्ताव लैजाने प्रक्रिया र विधिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीले अस्वीकार गरेपछि मंगलबार बिहान समाजवादीको संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

पहिलो घटना होइन

उपेन्द्र यादवको सत्ता साझेदारी असफल भएको यो पहिलो घटना भने होइन । फोरमले तत्कालीन सरकारसँग २०६४ मा पहिलो सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नभएपछि पुनः दोस्रो मधेस आन्दोलन भयो ।

यादवसहित महन्थ ठाकुर, राजेन्द्र महतो नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच १६ फागुन, ०६४ मा ८ बुँदे सम्झौता भएको थियो । ०६७ मा पनि एमाले नेता झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुन यादव नेतृत्वको फोरम नेपालले चारबुँदे सम्झौता गरेको थियो, जसमा खनालसहित तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि हस्ताक्षर गरेका थिए । फोरम त्यसमा पनि सफल हुन सकेन ।

यसैगरी, यादवसहितको संघीय गठबन्धन र माओवादी–कांग्रेसबीच १९ साउन, ०७४ मा तीनबुँदे सम्झौता भयो । यी सबै सम्झौतामा मधेसमा एक वा दुई प्रदेश हुनुपर्ने, मधेसमा रहेको नागरिकताको समस्या समाधान हुनुपर्ने, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेलगायतका बुँदा भएको खबर आकाश क्षेत्रीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले दिए राजीनामा (राजीनामा पत्रसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर