संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरेपछि मात्र आफू राष्ट्रियसभा सदस्य बन्ने नत्र नबन्ने बाचा सत्ताधारी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले पूरा गरेका छन् । संविधान संशोधनबाट बाटो नखोलिने भएपछि वामदेव गौतम राष्ट्रियसभामा नजाने अडानमै कायम रहे । तर, चुनाव हारेपछि ‘यो कार्यकालभरि संसदमा जान्नँ’ भनेका नारायणकाजी श्रेष्ठले भने आफ्नो बाचा बिर्सिदिए । ‘पार्टीको आवश्यकतामा जिम्मेवारी पूरा गर्न सर्त राख्दिनँ’ भन्दै श्रेष्ठ भने सांसद बन्न तयार भएका छन् ।
राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न शुक्रबार बिहान बसेको नेकपाको सचिवालय बैठकमा गरमागरम बहस चल्यो । आकांक्षी करिव डेढ सयको नाम एकातिर थियो, सचिवालय बैठकको निर्णय अर्कोतिर । पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य बन्ने या नबन्ने भन्नेमै बैठक केन्द्रित थियो ।
उनीहरुका विषयमा छिनोफानो भएपछि मात्र बल्ल नेकपाले अन्य व्यक्तिबारे छलफल चलायो । सो बैठकमा गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभासम्बन्धी संवैधिक दृष्टिकोण एउटै भए मात्र आफू राष्ट्रियसभामा जाने बताए । शुक्रबार नारायणकाजी श्रेष्ठ आफैंले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्याका लागि उम्मेदवार बन्ने घोषणा गरे । आफ्नै निर्णयविपरीत राष्ट्रियसभा सदस्य बन्नुपर्ने त्यस्तो के आइलाग्यो भन्ने प्रश्नमा उनले भने– ‘त्यतिखेर मैले प्रतिनिधिसभाको सदस्य बन्दिनँ भनेको मात्रै हो, राष्ट्रियसभामा जान्नँ भनेको थिइनँ ।’
सत्ताधारी पार्टीबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोट र दुई चर्चित नेताको प्रसंगसम्बन्धी यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
नामावलीसहितकाे यो समाचार पढ्नुहोस्–
यी हुन् राष्ट्रियसभा सदस्यका लागि नेकपाका उम्मेदवार (नामावली)