राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन नभएसम्म आफू राष्ट्रियसभाको सांसद नबन्ने सर्त राखेका सत्ताधारी नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः यथास्थितिमै राष्ट्रियसभामा जान तयार भएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको सिटमा २० फागुनपछि गौतमलाई लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ ।
एमसीसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको नेकपाको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने समझदारी बनेको छ । डेढ वर्षको कसरतपछि गौतम ‘मनोनीत सांसद’ का रूपमा संसद् प्रवेश गर्न तयार भएका हुन् ।
‘वामदेव गौतम कमरेडलाई राष्ट्रियसभामा लैजाने सहमति बनेको छ, औपचारिक निर्णय हुन बाँकी छ, कानुनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ’– नेकपा सचिवालयका एक सदस्यले भनेको खबर नेत्र पन्थी र शुरोजंग पाण्डेको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।