newskoseli.Com

प्रधानमन्त्रीलाई संक्रमणको आशंका !

सफल मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा असाध्यै राम्रो सुधार भैरहेको र केही दिनभित्रै डिस्चार्ज हुने तयारीमा रहेका भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ ।

उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेपछि प्रधानमन्त्री ओलीको पिसाब कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तिमा ४८ घन्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जानकारी दिएकी छन् ।

प्रा.डा. शाहका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । ‘उहाँलाई अहिले संक्रमणको जोखिम छ त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै रहेका हुन्छौं । पिसाबको पनि त्यहीअनुरूप कल्चर गर्न पठाइएको हो,’ उनले भनिन्– ‘रिपोर्ट ४८ घन्टापछि आउँछ अनि मात्र थप भन्न सकिन्छ ।’

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिले पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
प्रधानमन्त्रीलाई भेटेर घर फर्किइन् मिर्गौलादाता समीक्षा : ‘ख्याल गर्नू’ भन्दै ओलीले दिए धन्यवाद

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर