प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ ।
सत्तारुढ दलका शक्तिशाली अध्यक्ष ओलीले एकाएक ल्याएको आफू पदासीन रहेको प्रधानमन्त्री पद गौतमलाई दिने प्रस्तावलाई लिएर नेकपाभित्र विविध कोणमा विमर्श भइरहेको छ । के यथार्थमै गौतमलाई यो पद दिन खोजिएको हो त ? प्रधानमन्त्री ओलीका कामकारबाही निकटबाट नियालिरहेका नेताहरू भन्छन्– यो प्रस्ताव विरोधी कित्तामा फुट ल्याउन अघि सारिएको हो । गौतमसँगै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत तेस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव थियो ।
‘यो प्रस्तावको उद्देश्य नेकपाका अर्का अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ लाई अहिलेको ओलीविरोधी मोर्चाबाट एक्ल्याउनु हो,’ नेकपाका एक सचिवालय सदस्यले भने– ‘कमरेड गौतमलाई प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्ष भन्नासाथ पासा पल्टिहाल्छ भन्ने हो तर स्थिति उहाँ (ओली) ले सोचजस्तो छैन ।’
ओलीको यो प्रस्ताव मानेर अहिले भएको मोर्चाबन्दी टुट्ने संकेत कसैले पनि गरेनन् । वरिष्ठ नेता नेपालले प्रस्टसँग आफूनिकट नेताहरूलाई भनेका छन्– ‘म पदका निम्ति हिरिक्क हुने मानिस होइन, तेस्रो अध्यक्ष हुन अहिले म जान्छु ?’
स्वाभाविकरुपमा प्रधानमन्त्री पद आकर्षक छ । अहिलेसम्म प्रधानमन्त्री बन्न नपाएका गौतमका निम्ति यो प्रस्तावले महत्त्व राख्छ । तैपनि आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आउनासाथ उनले प्रस्ट भनेका छन्– ‘पहिले तपाईं पदबाट राजीनमा दिनुहोस्, त्यसपछि प्रधानमन्त्री कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्छ ।’
यसबाट प्रस्ट हुन्छ– कुनै पदको सौदाबाजीले नेकपाभित्रको अहिलेको विवाद टुंगो लाग्दैन । बरु गौतमलाई प्रधानमन्त्रीका निम्ति प्रस्ताव गरिसकेपछि त्यसले ओली स्वयंलाई भने अप्ठ्यारोमा पार्ने खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।
थप याे पनि पढ्नाेस्–
ओलीलाई वामदेवको जवाफ : ‘पहिले तपाईं राजीनामा गर्नुहोस्, अरु निर्णय पार्टीले नै गर्छ’