newskoseli.Com

टोकियोमा ‘प्रमिस अफ काठमान्डु’

फूलमान वल, टोकियो- जापानको दक्षिणी सहर खुमामोतोलाई भूकम्पले अझै पनि हल्लाइरहेको छ । तर, राजधानी टोकियोस्थित एक बौद्ध गुम्बामा भने सोमबार साँझ नेपाली भूकम्पको चर्चा भइरहेको थियो ।

एक युवक आफ्नो पूर्वप्रेमिकालाई भनिरहेका थिए, ‘तिमीलाई यहाँ देख्दा अझै विश्वास लागिरहेको छैन, पहिले पनि भूकम्पमा तिमी मर्‍यौ भन्ने हल्लामा मलाई विश्वास लागेको थिएन ।’

 

यसपछि सिन्धुपाल्चोककी निशा श्रेष्ठले आँसु पुछिन्, र, आफ्नो पूर्वप्रेमी रमेशलाई दुब्लाएको कारण सोधिन् । यी जोडीको प्रेमलाई वैशाख १२ को भूकम्पले तहसनहस पारेको थियो ।

वर्षौंदेखि नेपालमा सम्पदा संरक्षण र भूकम्प प्रतिरोधी घर निर्माणको चेतनामूलक अभियानमा लाग्दालाग्दै आजित भएर जापान पलायन भएका रमेश वैशाख १२ पछि जापानी उद्धार टोली जेडीआरसँगै नेपाल फर्केका थिए ।

भूकम्पमा हराइरहेकी आफ्नी पूर्वप्रेमिका निशा मरेको खबर सुनेपछि फेरि जापान फर्केका उनको रहस्यमय रूपमा तिनै पूर्वप्रेमिकासित भेट भयो– टोकियोको चिवास्थित हसन टेम्पलमा ।

वैशाख १२ को भूकम्पले नेपाली जनजीवनमा ल्याएको परिवर्तनलाई समेटै जापानी निर्देशक डा. तोशिआकी इतोहले बनाइरहेको फिल्म ‘माई लभ : प्रमिस अफ काठमान्डु’ को यसरी सुटिङ चलिरहेको बेला जापानी टेलिभिजनहरूमा भने खुमामोतो परकम्पका समाचारहरू आइरहेका थिए ।

‘भूकम्प एकदमै प्राकृतिक कुरा हो, यसले कुनै पनि देश, समाज समुदाय भन्दैन, त्यही भएर विपत्को बेला एकअर्काको साथ सहयोगमा रहनुपर्छ,’ टोकियो युनिभर्सिटीका प्राध्यापकसमेत रहेका डा. तोशिआकीले भने ।

सन् २००७ मा सम्पदा संरक्षणसम्बन्धी नेपाली भाषाकै फिल्म ‘कठपुतली’ र पारिजातको उपन्यासमाथि ‘शिरीषको फूल’ फिल्म बनाएका डा. तोशिआकीले यसपटक भने दुवैको देशको चरित्र र भाषा समेटेर फिल्म ‘माई लभ : प्रमिस अफ काठमान्डु’ बनाएका हुन् ।

चारपटक नेपाल पुगेर नेपाली पार्ट सकाइसकेका उनले यतिबेला जापानी पार्टको सुटिङ धमाधम गरिरहेका छन् ।

यसका लागि नेपालबाट रमेशको भूमिकामा खेल्ने गणेश लामा, निशाको भूमिका गर्ने शीतल श्रेष्ठ, डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) गौरीशंकर धुंजू, छायाकार नारायण जीसी, मेकअप आर्टिस्ट विश्वराम केसी, सहअभिनेता नारायण रुपाखेती लगायतको टोली जापान आइपुगेका छन् । सोमबारदेखि सुरु सुटिङ एक महिना जारी रहनेछ ।

‘२० वर्ष अगाडि नेपाल जापानको मित्रताको सन्देशसहित बनेको मितेरी गाउँपछि नेपाली र जापानी दुई भाषामा बन्न लागेको यो पहिलो फिल्म हुनेछ,’ मितेरी गाउँको नायकसमेत रहेका गणेशले भने, ‘यस हिसाबले यो फिल्म दुई देश र समाजको कथा हो ।’

फिल्ममा जापानी कलाकार किताजाबा, मियामितो, खाजुतोशी थासाका, रिबोन लगायतले समेत अभिनय गरेका छन् ।

यो खबर कान्तिपुर दैनिकको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर