newskoseli.Com

कोरोनाबाट अमेरिकामा १५ सहित समुद्रपारि ५४ नेपालीको मृत्यु

कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणबाट अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थीको मृत्यु भएको हो ।

बिरामी भएर चैत २६ (अप्रिल ८) मा उनी अस्पताल भर्ना भएका थिए । उनी समेत गरी कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ गरी १५ जनाको मृत्यु भएको हो ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले समेत हृदयाघातका कारण समेत केही नेपालीको मृत्यु भएको देखिन्छ । उनी भन्छन्– ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोग प्रतिरोधी क्षमता कमजोर गराई मृत्यु नजिक पुर्‍याउने गरेको देखिन्छ ।’

एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शव मङ्गलबार अन्तिम संस्कार गरिएको जानकारी भण्डारीले दिए । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पुर्‍याउन भण्डारीले महत्त्वपूर्ण सहयोग गर्दै आएका छन् । अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड र जापानमा गरी ५४ नेपालीको मृत्यु भएको एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार विभिन्न २५ देशमा रहेका २ हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ । तीमध्ये ४ सय ३४ जनाले आफूलाई कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएका छन् । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा १ हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ मा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म यो भाइरसको सङ्क्रमणबाट अमेरिकामा ५८ हजार २ सय २० जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कूल १० लाख १२ हजार सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हप्किन्सको पछिल्लो तथ्याङ्कअनुसार १ सय ८५ देशका ३१ लाख १६ हजार ६ सय ८० जना कोरोनाभाइरसको सङ्क्रमणमा परेका छन् । यसको सङ्क्रमणबाट २ लाख १७ हजार १ सय ६८ जनाले ज्यान गुमाएका छन् । यीमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर