newskoseli.Com

आईसीसी सदस्यमा रमेश भट्टकाे शानदार जित : अघि बढ्ने यस्ताे छ प्रतिबद्धता…

बागलुङमा जन्मेर काठमाडौंको वासिन्दा बनेका रमेश भट्ट एनआरएनए एनसीसी कतारको आठौं अधिवेशनबाट अत्यधिक मतले आईसीसी सदस्यमा विजयी भएका छन् । सन् २०१९–२०२१ कार्यकालका लागि शुक्रबार, अगस्ट २३ मा कतारमा सम्पन्न मतदानबाट भारी मतका साथ भट्टले प्रतिस्पर्धीहरूमध्ये पहिलो स्थान हासिल गरेका हुन् ।

सन १९९६ देखि कतारमा रहेर सामाजिक सेवामा सक्रिय भट्टले मध्यपूर्व क्षेत्रमा रहेका आम नेपालीको साझा मुद्धाका रूपमा रहेको ‘सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी’ लाई स्थापित गर्न आईसीसीमार्फत महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सामाजिक संघ–संस्थाको नेतृत्व गर्दै गर्दा मजदुरको हकहितको पक्षमा आवाज उठाउँदै आफू निरन्तर सामाजिक अभियानमा लागिरहने उनले बताएका छन् ।

निरन्तर सामाजिक कार्यमा संस्थागत रुपमा क्रियाशील हुने क्रममा भट्टले प्रगतिशील यातायात मजदुर संगठनको संस्थापक अध्यक्ष र नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्ष, बाग्लुङ सेवा समाजको अध्यक्ष हुँदै नेपाली व्यवसायी संघको सहसचिव, तीन नम्बर प्रदेश समन्वय परिषद कतारको सल्लाहकारलगायतका भूमिका समेत निर्वाह गरिरहेका छन् । रोजगारीको सिलसिलामा कतारमा रहँदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै २००९–२०११ को कार्यसमितिको उपाध्यक्षमा समेत उनले उम्मेदवारी दिएका थिए । २०१७–२०१९ को कार्यसमिति सदस्यका रूपमा प्राप्त भएको काम गर्ने अवसरलाई उनले पूर्ण क्षमताका साथ संस्थागत र पद्धतिसंगत ढंगले सदुपयोग गर्ने प्रयास गरे ।

एनआरएनए आईसीसी ‘टुरिज्म प्रमोसन नेपाल’ उपसमितिको सदस्यका रुपमा भूमिका निर्वाह गर्नुका साथै उनले विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहेर पनि काम गरे । उनले मध्यपूर्व क्षेत्रमा मुख्य गरी सुरक्षित आप्रवासन र मर्यादित वैदेशिक रोजगारका निम्ति उनले मुख्यतः एनसीसी, आईसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर यथासक्य प्रयास गरे ।

आगामी दिनमा पनि सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानका लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने उनको प्रमुख योजना रहेको छ । एनसीसीका कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्न आवाश्यक भूमिका निर्वाह गर्ने, एनसीसीका मुद्धाहरुलाई आईसीसी र सम्बन्धित निकायसम्म पुर्‍याएर आवाज उठाउने, समाधानका लागि पहल गर्ने उनी बताउँछन् ।

एनआरएनएको अभियानले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा यस अभियानलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता उनको प्रतिबद्धता छ । निर्वाचनमा शानदार विजयपछि उनले सामाजिक संघ–संगठनमा निरन्तर साथ र सहयोग गर्दै आएका सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर