newskoseli.Com

हृदयाघातबाट नेपाली युवकको दुबईमा मृत्यु, दसैंका बेला घरमा रूवाबासी

झापाका एक युवकको शनिबार अचानक यूएईमा मृत्यु भएको छ । दुबईस्थित जावेल अलीमा बस्ने ३८ वर्षिय घनश्याम प्रधानको अचानक हृदयाघात भएर मृत्यु भएको त्यहाँस्थित क्याम्प बोसले पुष्टि गरेका छन् ।

दिनभर ड्युटी गरेर आएका प्रधानलाई एक घन्टा अगाडिसम्म कुनै स्वास्थ्य समस्या नभएको तर अचानक ‘छाती दुख्यो’ भनेपछि क्याम्प अफिसमा लिएर गएको सँगै कोठामा बस्ने उनका साथीहरुले बताएका छन् । ‘छाती दुख्यो भनेपछि तुरुन्त एम्बुलेन्स बोलाएका थियौं तर क्याम्प अफिसमा बस्दाबस्दै एम्बुलेन्स आउनुभन्दा अगाडि नै प्रधान बेहोस भए’– क्याम्प स्टाफ मोहम्मद अवयसले बताए ।

एम्बुलेन्सले तुरुन्तै दुबईस्थित एनएमसी हस्पिटलमा पुर्‍याए तापनि करिव १० बजेतिर चिकित्सकहरुले मृत घोषित गरेका थिए । मृत्युको मुख्य कारण हृदयाघात नै भएको हस्पिटलले पुष्टि गरेको छ । दुबईको बोर्ड सेक्युरिटी भन्ने कम्पनीमा १० वर्षदेखि सेक्युरिटी प्याट्रोलिङका रुपमा काम गर्दै आएका प्रधान ३ महिना अगाडि मात्र कम्पनीको छुट्टी सकेर घरबाट दुबई फर्किएका थिए ।

‘छिट्टै नेपाल फर्किएर उतै केही गर्ने योजना बनाइरहेका थिए तर भगवानले उनको योजना अपूरो नै बनाएर लगे’– एक वर्षदेखि कोठामा सँगै बस्दै आएका प्रधानका साथी रमेश पौडेलले भने । सबैसँग समधुर सम्बन्ध भएका प्रधान जावेल क्याम्पमा बस्दा समेत सबैको प्रिय रहेको बताउँदै रमेशले भने– ‘समाजसेवामा पनि घनश्यामको ठूलो योगदान छ, आर्थिक स्थिति कमजोर भएका कसैले नेपालमा दुःख पाएको समाचार आउँदा सयोग गर्नुपर्छ भनेर सबैलाई झक्झक्याउँथे ।’

प्रधानको मृत्यु भएको खबर सोही कम्पनीमा काम गर्ने उनका छिमेकी उमेश सिटौलामार्फत दिइसकिएको उनीसँगै कोठामा बस्ने साथीहरुले बताएका छन् । दसैं मनाउनका लागि केही समय अगाडि मात्र कम्पनीको छुट्टीमा घर गएका सिटौलाको घर प्रधानको घरबाट ५ मिनेटको दुरीमा पर्छ ।

घनश्यामको मृत्युको खबर सुन्दा आफू मर्माहत भएको बताउँदै सिटौलाले भने– ‘मैले त्यहाँबाट खबर सुनेपछि भर्खरै उनको परिवारलाइ भन्ने साहस गरें । हुन त समाल्न गाह्रो छ तर यस दुःखद् घडीमा हामी सबै उनकै घरमा जम्मा भएका छौं ।’ घनश्यामको निधन भएको समाचार सुनिसकेपछि प्रधानको घरमा रुवाबासी सुरु भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर