newskoseli.Com

म्याग्दी प्रवासी नेपाली सङ्घद्वारा फ्री वाइफाइका लागि सहयोग

म्याग्दीका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने बहुचर्चित प्रोजेक्ट ‘फ्री वाइफाइ’का लागि म्याग्दी प्रवासी नेपाली सङ्घ, अन्तर्राष्ट्रिय कार्यकारी समितिले १० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।

 

जिविस म्याग्दी, डिजिटल साक्षरता अभियन्ता डा महावीर पुन र मोना आइइसीको सक्रियतामा सुरु भएको इन्टरनेटयुक्त म्याग्दी अभियानलाई थप प्रभावकारी बनाउन मोना आइइसीका पदाधिकारीबाट १० लाख ५० हजार रुपैयाँ सहयोग भएको हो ।

अभियानमा मोना आइइसीका संस्थापक अध्यक्ष एवम् संरक्षक प्रकाश पुनले रु दुई लाख, अध्यक्ष योगेन्द्रबहादुर क्षत्रीले रु दुई लाख, वरिष्ठ उपाध्यक्ष विनोद कुँवरले रु एक लाख, महासचिव घनबहादुर शाहीले रु एक लाख, कोषाध्यक्ष चक्रबहादुर थापाले रु एक लाख, सहकोषाध्यक्ष ओमनारायण जुग्जालीले रु एक लाख, महिला सदस्य टीकादेवी गुरुङले रु एक लाख र मोना आइइसीका युरोप उपाध्यक्ष राजेन्द्र कार्कीले रु एक लाख सहयोग गरेको मोना आइइसीका कोषाध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए ।

“आर्थिक सङ्कलन अभियान जारी छ । हामीले जिल्लालाई सूचना र प्रविधिमा नेपालकै नमुना बनाउने अभियानलाई सघाउँछौँ”, उनले भने । म्याग्दीको अभियानलाई अन्य जिल्लाबाट विदेशमा रहेका नेपालीले समेत साथ दिएका छन् ।

गत २०७२ साल कात्तिक २ गते म्याग्दीमा भएको प्रथम विश्व सम्मेलनबाट जारी घोषणापत्रको एक महत्वपूर्ण योजनाका रुपमा जिल्लाका सबै बस्तीमा इन्टरनेटको पहुँच विस्तार गर्ने बुँदा समावेश गरिएको थियो ।

इन्टरनेटको माध्यमबाट विकट बस्तीमा टेलिमेडिसिन, गुणस्तरीय शिक्षा, डिजिटल साक्षरता, पर्यटन, धार्मिकलगायत जिल्ला सूचना र प्रविधिको क्षेत्रमा नेपालकै गन्तव्य बन्ने भएकाले पनि अभियानलाई अगाडि बढाइएको मोना आइइसीका संस्थापक अध्यक्ष एवम् अभियानका मूल संयोजक प्रकाश पुनले बताउनुभयो ।

प्रवासी म्याग्देलीले रु ५० लाख देखि एक करोडसम्म सहयोग सङ्कलनको लक्ष्य राखेका छन् ।

गैरआवासीय म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना आइइसी)का अध्यक्ष योगेन्द्रबहादुर क्षत्री र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि अभियानले तीव्रता पाएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर