newskoseli.Com

बालबालिकालाई रुघाखोकीबाट बचाउने उपायहरू

बालबालिकाकालाई चिसोले छिटै समात्छ । त्यसैले नवजात शिशु तथा बालबालिकालाई जाडो महिना बाहेकको समयमा पनि रुघाखोकीले सताइरहेको हुन्छ । जाडो महिनामा अझ समस्या बढी देखिन्छ ।

आफ्ना बालबालिकालाई चिसो लाग्दा अभिभावकहरुले बारम्बार चिकित्सककोमा धाउनुपर्ने हुन्छ । तर, तपाईंलाई यदि बालबालिकाको समस्याबारे थाहा भएमा उनीहरुलाई कस्तो अवस्थामा अस्पताल लैजाने र कतिसम्मको अवस्थामा आफैंले रेखदेख गर्ने भन्ने थाहा हुन्छ ।

चिसो लाग्नुको कारण

रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले बालबालिकाहरुमा रोगहरूको संक्रमण बढी हुने गर्छ । चिसोले पनि छिटै समाइहाल्छ । खासगरी खोक्दा तथा हाच्छिउँ गर्दा चिसोको जीवाणु हावामा सक्रिय रहन्छ । यस्ता जीवाणु बालबालिकाको खेलौना तथा भुइँमा समेत सक्रिय अवस्थामा रहन्छन् । बालबालिकाले खेलौना समाउँदा ती जीवाणु हात हुँदै मुखमा छिर्ने गर्छ र संक्रमण फैलिने गर्छ ।

लक्षण

सामान्यतया बालबालिकाहरुमा चिसो लागेको लक्षण संक्रमण भएको १ देखि ३ दिनपछि मात्र देखिन्छ । लक्षणहरु यस्ता छन्ः
. नाकबाट सिँगान तथा पानी बग्ने
.  रुघाखोकी लाग्ने
.  खाना नरुच्ने
. आलस्य हुने
. झर्को महसुस गर्ने
. निद्रामा समस्या आउने
. ज्वरो आउने
. बान्ता आउने तथा बढी दिसा लाग्ने, आदि ।

उपचार

रुघाखोकीको लागि खासै उपचारको जरुरी पर्दैन । यस्ता संक्रमण आफैं निको भएर जान्छ । एन्टीबायोटिकले यसमा खासै काम गर्दैन । किनकि एन्टीबायोटिकले ब्याक्टेरियालाई मार्ने काम गर्छ । तर, रुघाखोकीको समस्या फरक हो ।

रुघाखोकीको संक्रमणमा ६ वर्षभन्दा मुनिका बालबालिकालाई कुनै औषधि दिनुभन्दा प्राकृतिक रुपमै उपचार गर्नु फाइदाजनक मानिन्छ । यस्तो बेला उनीहरुलाई प्रशस्त आराम गराउने तथा घरेलु उपचार गर्नु उपयुक्त हुन्छ ।

यद्यपि धेरै ज्वरो आएमा प्यारासिटामोल लगायतका औषधि दिनु उचित हुन्छ । खासगरी रुघाखोकी लाग्दा बालबालिकालाई एस्पिरिन खुवाउनु हुँदैन । यसले बालबालिकामा अन्य रोगहरु पैदा गर्न सक्छ ।

सक्दो झोलिलो पदार्थ खुवाउनेः

साना बालबालिकालाई रुघाखोकी लाग्दा समय समयमा झोलिलो पदार्थको सेवन गराउनु उर्पयुक्त मानिन्छ । त्यस्तै, ६ महिना भन्दा माथिका बालबालिकालाई प्रशस्त मात्रामा पानीको सेवन गराउन सकिन्छ । यसले उनीहरुको शरीरबाट पानीको मात्रा कम हुन दिदैन र उनीहरुको मुख तथा नाकलाई सुख्खा हुन दिदैन ।

नुनपानीले पुछ्ने तथा जमेको फोहोर निकाल्नेः

नाकमा जमेका फोहोरको कारण तपाईंको बच्चालाई सास फेर्न गाह्रो भएमा नाकको दुवै प्वालमा नुनपानीले विस्तारै पुछिदिने गर्नुपर्छ  । बल्म सिरिञ्जको सहायताले नाकमा जमेको फोहोर विस्तारै निकाल्न सकिन्छ । यस्ता सिरिञ्जको प्रयोग गर्दा उमालेको पानी अथवा डिस्टिल वाटरको प्रयोग गर्नु उचित हुन्छ ।

ह्युमिफायरको प्रयोग गर्नेः

नेपालमा हयुमिफायरको प्रयोग कमै गरिन्छ । यसले कोठालाई बाफिलो बनाउँछ । चिसो मौसममा बच्चाको नाक–मुख सुख्खा नहोस् भनेर यस्तो मेसिनको प्रयोग गरिन्छ ।

रोकथाम

सामान्यतया जाडो याममा बालबालिकालाई रुघाखोकीबाट जोगाउन गाह्रै पर्छ । तर, यी उपाय अपनाएमा उनीहरुलाई चिसोका कारण निम्तिने समस्याबाट केही हदसम्म रोकथाम गर्न सकिन्छ ।

. संक्रमित व्यक्तिबाट शिशुलाई टाढै राख्ने । कुनै पनि व्यक्तिलाई शिशुको अगाडि खोक्दा तथा हाच्छिउँ गर्दा मुख छोप्न वा रुमालको प्रयोग गर्न आग्रह गर्ने ।

. रोगको संक्रमण हुन सक्ने स्थान तथा भिडभाडबाट शिशुलाई टाढा राख्ने ।
शिशुको नजिक जानुअघि साबुन पानीले राम्ररी हात धुने ।
. शिशुले प्रयोग गर्ने खेलौनालाई समयसमयमा साबुन पानीले सफा गर्ने ।
सकेसम्म शिशुको कुनै पनि सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।
. शिशुको अगाडि धूमपान नगर्ने । खासगरी चुरोटको धुवाँले ५ वर्षमुनिका बालबालिकालाई छिटै असर गरी बिरामी बनाउँछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर