newskoseli.Com

नेपालमा बुबा बिते, मलेशियामा छोराले प्राण त्यागे

‘धेरै छ पीडा त्यै पनि हाँस्छु म
एक दिन मर्ने नै हो त्यही पनी बाँच्छु म ।’

बेताली- ४, रामेछापका कुमार खड्काले एक महिना अगाडि आफ्नो स्ट्याट्सबाट पीडाका बीचमा पनि बाँच्नैपर्ने बलियो आत्मविश्वास व्यक्त गरेका थिए ।  तर, उनको  मृत्युलार्इ पराजित गर्ने आत्मविश्वास धेरै समयसम्म टिक्न सकेन ।

आफ्नी श्रीमती, ३ वर्षिय छोरा र आमाबुबाका लागि सुखको सपना बोकेर मलेसियामा कडा सङ्घर्ष गरिरहेका कुमार खड्काको साताअघि मृत्यु भएपछि उनको परिवारको सुख अपाङ्ग हुन पुगेको छ ।

आफ्नो भविष्य र परिवारको सुखका लागि मलेशियामा सङ्घर्ष गर्दै गर्दा कुमारले एक महिना अगाडि नेपालमा बुबा दलबहादुर खड्कालार्इ गुमाउनुपर्‍यो । नेपालमा बुबाको दुःखद् निधन भएपछि उनले बुबाको मुख देख्न समेत नपाएको पीडालार्इ फेसबुक स्ट्याट्सबाटै आफ्नो पोखेका थिए ।

पीडादायी आफ्नो स्ट्याट्समा आफ्नै परिवारका सदस्यहरु समेतले धैर्यधारण गर्न सुझाएपछि उनले आफ्नो मनलार्इ आफैंले मनाएका थिए ।  त्यै पनि बेलाबखतमा आफूभित्रका पीडा पोखिरहन्थे । केही समय अगाडि उनले लेखेका थिए– ‘सधैंभरि अरुलाई रुनु हुँदैन भन्थें तर आज आफैंले थाहा पाएँ– पीडा नपरी कोही  रुँदो रहेनछ । अरुलार्इ पीडा हुँदा घाउमा मलम लगाउँथें तर आज त्यही घाउ मलार्इ लागेको छ । जति पीर परे पनि केही गर्न सकिँदो रहेनछ ।’

कुमारले केही गर्न नसकिएको भाव व्यक्त गरिरहेका बेला उनको अपूरो सपना मृत्युसँग जोडिन पुगेको छ । मलेशियाको मजोर कन्सेप्ट सड बन नामक कम्पनीमा काम गर्दै आएका कुमार सधैं झैं सबै साथीहरुसँग काम गरेर कोठामा आएका थिए । पहिलेको भन्दा उनको पीडा बिस्तारै शान्त बन्दै गएको थियो । मलेशियाबाट कुमारका जेठान तेजबहादुर पाण्डेले भने– ‘म पनि उहाँको कम्पनीबाट अलि टाढै नै छु । उहाँका नजिकका साथीहरुका अनुसार बिहान काममा जाने बेलासम्म पनि कुमार नउठेपछि यसो हेर्दा त बितिसक्नु भएको रहेछ ।’

यता नेपालमा बुबाको शाेकको घाउ नओबाउँदै मलेशियाबाट कुमार खड्काको समेत मृत्युको खबर आएपछि परिवार झन् चर्काे शाेकमा डुबेको छ । उनकी २७ वर्षिया श्रीमती सविता खड्का बेहोस् अवस्थामा छिन् ।

कुमारकी बहिनी सम्झना भन्छिन्– ‘हामी सबै यतिबेला शाेकमा डुबेका छौं । एक महिना अगाडि मात्र बुबाको शाेकमा डुबेका हामी आज फेरि दाइको यस्तो खबर आएपछि झन् असहाय भएका छाैं । आमा, भाउजू सबै बेहोस् जस्तै हुनुहुन्छ । दाइको छोरा ३ वर्षिय भाइ छ, भगवानले पनि हामीलार्इ मात्र चोट दिन्छ क्यार ।’

एक महिनाभित्रै श्रीमान् र २९ वर्षिय जवान छोरा समेतलार्इ गुमाउँदाको पीडाले उनकी आमा मर्माहत भएकी छन् भने श्रीमती बेहोस् अवस्थामा छिन् । उनका ३ दाजुभाइमध्ये जेठो दाइ साउदी अरेबियामा छन् भने कान्छा भाइ रामेछापकै बेतालीस्थित जनजागृति उच्च माध्यामिक विद्यालयमा अध्ययनरत छन् ।

विनाकारण मलेशियामा कुमार खड्काको अचानक मृत्यु भएपछि आइपोक पेराकमा बस्दै आएका उनका साथlहरुले समेत अचम्म लागेको बताए । खड्का आफ्ना बुबा बितेदेखि नै तीब्र मानसिक तनाबमा रहेको मलेसियामा रहेका उनका साथीहरुले बताएका छन् । त्यसैले कम्पनीको कामको तनाब र भारी मानसिक तनाबका कारण उनको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ।

आवश्यक प्रक्रिया पूरा गरेपछि खड्काको शब छिट्टै नेपाल पठाउने कम्पनीले बताएको छ । अहिले उनको शवलार्इ मलेशियास्थित उनी काम गर्ने कम्पनी मजोर सड बनको नजिकै अस्पतालमा पोस्टमार्टमका लागि लगिएको उनका जेठान तेजबहादुर पाण्डेले बताए ।

यस्तो थियो उनले अन्तिमपल्ट आफ्नो फेसबुकमा लेखेको कविता–

‘जीवनबाट आफैं हारेको मान्छे म त

बाहिरी हाँसो, भित्र चोट बोकेको मान्छे म त

आफ्नो दुःख–सुख सबै लुकार्इ बाँचेको आज

अरुकै दुःखमा साथ दिन हिँडेको मान्छे म त

भावीको लेखान्त हो या भाग्यको खेल

समयको परिवर्तनसँगै परदेशिएको मान्छे म त

न त यहाँ कसैको साथ न त कसैको माया

बाटोको कसिङ्गरजस्तै बढारेर फालेको मान्छे म त…’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर