प्रसंग आज भन्दा ठीक ६ वर्ष अघि अर्थात् १४ डिसेम्वर सन् २०१० विहान ९ वजेको हो । त्यो दिन अहिले कै समयमा हामी अत्यन्त कठिन परिस्थितिमा थियौं । ५ महिना टेकेकी छोरी साईसा, जो हाम्रो वर्तमान, भबिष्य सबै थिइन् अनि हाँसो खुशी सबै । तर विधिको बिडम्बना भनौ या के छोरी साइसा जन्मदा नै मुटुमा समस्या लिएर जन्मेकी थिई । जसको कारण डाक्टरहरुको सल्लाह बमोजिम उनको Open Heart Surgery गर्नुको बिकल्प हामीसँग थिएन ।
Surgery को समय थियो, विहान ९ बजे, १४ डिसेम्बर सन् २०१०, स्थान ESSCORT Hospital, New Delhi । अस्पतालको त्यो कोलाहल सहितको दृश्य जुन मेरो मानसपटलमा झलझली आइरहन्छ । निद्राविहीन अघिल्लो रात, मनभरि अनेक कुराहरु खेलेका थिए । डर र आशाका बीचमा हामीले विहानको ९ कहिल्यै नबजोस् भनेर कामना गरेका थियौं तर समयका अगाडि कसैको कामनाको केही लाग्दैन । विहानको ९ बज्नै लाग्दा प्राण भन्दा प्यारी छोरी साइसालाई Operation Theater मा डाक्टरहरु समक्ष पुर्याउनु थियो । जीवनकै कठिन त्यो मोडमा मेरी जीवनसंगिनी रञ्जना र भाउजू पनि मेरो साथमा हुनुहुन्थ्यो । अस्पतालमा मानिसहरु आ–आफ्नै सुरमा यताउति दौडिरहेका थिए । तर ति सबै दृश्य बिस्तारै धमिलो हुँदै गयो र हामी सबैले ५ महिने छोरी साइसाकै मुहार सबै तिर देख्न थाल्यौं ।
छोरी साइसाको अप्रेशन त्यो पनि मुटुको, ओहो अहिले सम्झँदा पनि पुरै शरीर गलेर आउँछ । अप्रेशनका लागि छोरीलाई डाक्टरहरुकोमा पुर्याउनै पर्ने भयो किनकि घडीले विहानको ९ बजाइ सकेको थियो । मैले बल्लतल्ल आँट गरेर छोरीलाई अप्रेशन थिएटरमा लान रञ्जना र भाउजूलाई साइसा मागे । जवाफमा पूरै अस्पतालमा रुवाबासी चल्यो, उहाँहरुले साइसा मलाई दिन र अप्रेशन थिएटरसम्म लान दिन मान्नु भएन । हामीले छाती पिटीपिटी रोएर केही पल बितायौं, आँशु रोकिएन तर पनि कुनै बिकल्प थिएन हामीसँग छोरीको मुटुको अप्रेशन गर्नु नै थियो ।
चिच्याहट, रोदन र सबै खालका पीडा भुल्ने प्रयास गर्दै मैले आफूलाई सम्हालेर छोरीलाई अंगालो हाल्दै भारी मनले छोरी साइसालाई डाक्टरहरुको टिमलाई जिम्मा लगाएँ । छोरी हामीलाई हेर्दै मुसुक्क हाँसी अबोध मेरी छोरीलाई वास्तवमा के थाहा ? केही बेरमा नै उनको मुटुको अप्रेशन हुँदैछ भनेर । हुन त मलाई पनि सन्सारका सारा प्राणीहरुले सुन्ने गरी रुन, चिच्याउन मन थियो त्यती खेर । डाक्टरको हात हुँदै अप्रेशन थिएटरमा पुगिसकेकी मेरी प्राण भन्दा प्यारी छोरी साइसालाई दौडेर अंगालोमा बेरेर आफू तिर नै फर्काउन मन थियो…
तर अप्रेशन थिएटरको ढोका लक भई सकेको थियो, मेरी छोरी सायद पीडामा छट्पटाउन शुरु गरिसकेकी थिई । म आफैं कमजोर भएँ भने स्थिति झन् बिग्रन सक्छ, मलाई राम्ररी थाहा थियो । त्यसैले मैले सारा पीडाहरुलाई लुकाउने प्रयास गरे र सामान्य बन्ने प्रयास गरें ।
छोरी अप्रेशन थिएटरमा, हामी तीन जना बाहिर । हरेक सेकेण्ड समय बिताउन हामीलाई गाह्रो भई रहेको थियो । चार घण्टाको अप्रेशनको समय बिताउन हामीलाई चार हजार बर्ष बिताए जस्तै भयो । आखिर चार घण्टाको डाक्टरहरुको अथक प्रयास पछि भगवान् श्री सत्य साई बाबाको कृपा र हाम्रो कामनाले अप्रेशन सफल भयो । हामीले फेरी छोरीलाई साथमा पायौं र अर्को नयाँ जीवन पाएको अनुभूति गर्दै यतिखेर भने हर्षका आँशु झार्यौं, फेरी भक्कानिएर रोयौं ।
त्यस कठिन परिस्थितिमा हामीलाई सदासयता प्रकट गर्नु हुने हाम्रा सम्पूर्ण इष्टमित्र, साथीभाई प्रति हामी जिन्दगी भर आभारी छौं । हरेकको सहानुभूतिले हामीलाई ठूलो साहस मिलेको थियो र छ । मेरो परिवारको हरेक सदस्यहरु प्रति पनि म आभारी छु, जसको साथ र सहयोगले जटिल परिस्थितिमा पनि साहसको उर्जा प्राप्त भयो ।
यस्तै अप्रेशनमा सम्लग्न सम्पूर्ण टिम, खास गरी DR KS IYER र DR Parbati IYEAR लाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र म वहाहरु प्रति सदा ऋणी छु । जसल मेरो छोरी र हामीलाई नयाँ जीवन दिनुभयो । यस्तै मेरा श्रद्धय अंकल माताप्रसाद रिजाल (हाल अमेरिका) ले त्यतिखेर दिनु भएको हौसला प्रति हामी सपरिवार आभारी छौं ।
अन्त्यमा आज छोरी साइसा ६ बर्ष पाँच महिनाको भइन्, म भगवानसँग प्रार्थना गर्दछु “उनको जीवन सदा सुखमय होस् र उज्वल बनोस अनि ठूलो भएपछि पनि उनको जस्तै समस्या भोगेका बालबालिकाहरुलाई उनले सहयोग गर्न सकोस्, एक असल मानिस भई समाज र मानव जातिको प्रेरक बन्ने शक्ति भगवानल दिउन्” हाम्रो यहि कामना छ ।