
भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।
हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले राससलाई जानकारी दिए ।
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । “तीनजनाको शव ढिस्कोबाट निकालिएको छ ।” विष्टले भने – “थप एकजनाको शव डोजरको सहायताले निकालिँदैछ ।” छ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ ।
भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनीमार्फत सडक खनाइरहेको थियो । “हामीहरु ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ ।” विष्टले भने – “म यहाँ अर्कै साइडमा थिएँ ।”