
विश्वभर वार्षिक ८२ लाख क्यान्सरका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक वर्ष १५ हजार मानिसको क्यान्सरका कारण अकालमा मृत्यु हुने गरेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका प्रमुख एवम् क्यान्सर विशेषज्ञ डा। सुदीप श्रेष्ठले बताएका छन् । उनका अनुसार हाल नेपालमा ५० हजार क्यान्सरका रोगी छन् ।
‘विकसित देशमा भन्दा विकासोन्मूख मुलुकमा क्यान्सरका बिरामी बढ्दो क्रममा छन्’, डा. श्रेष्ठले भने– खासगरी गरिबीले ग्रस्त भएका देशमा यो रोगको प्रभाव बढी देखिने गरेको छ ।’
सूर्तिजन्य वस्तुको सेवनले क्यान्सरका बिरामी दिनानुदिन बढ्दै गएको उनले बताए । यसबाहेक पोलेको मासु खानाले पनि क्यान्सर लाग्ने गरेको बताइएको छ ।
शारीरिक व्यायामको कमी, अधिक मात्रामा मासु तथा नुन खानु, बासी खानाको प्रयोग, वंशाणुगत, सूर्यको किरणबाट समेत क्यान्सर हुने गरेको डा. श्रेष्ठको भनाइ छ । नाक, कान, घाँटी, फोक्सो, आमाशय, ठूलो आन्द्रा, महिलाको स्तन तथा पाठेघरमा बढी क्यान्सर हुने गरेको चिकित्सकहरू बताउँछन् ।
क्यान्सर बिरामीको उपचार महँगो हुने भएकाले यसलाई सरल र सहज बनाउन व्यक्तिको बीमा भए सकारात्मक हुने उनले बताए । क्यान्सर उपचारका लागि केमोथेरापी, रेडियोथेरापी तथा विभिन्न औषधिको प्रयोग गरिने गरेको भक्तपुर क्यान्सर अस्पतालका प्रमुख लोकेन्द्रकुमार श्रेष्ठले बताए ।
अस्पतालले क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउँदै उनले भने– ‘महिलाभन्दा पुरुषमा क्यान्सर बढी देखिएको छ । दैनिक रुपमा सेवन गर्ने खानपानमा उचित ध्यान दिनसके क्यान्सर बिरामीको सङ्ख्या न्यून हुन सक्छ ।’
‘रासायनिक सम्मिश्रबाट तयार पारेर बनाइएको औषधिलाई बिरामीको मुख तथा नसामार्फत क्यान्सरको कोषिका नष्ट गर्ने वा रोगबाट उत्पन्न पीडालाई कम गर्ने उपचार प्रविधि नै केमोथेरापी हो’, उनले भने । रेडियसन अनकोलोजी अन्तर्गत टेलिथेरापी, ब्राची थेरापी र सिमुल्याटर उपचार प्रविधि रहेको पनि डा. श्रेष्ठले बताए ।
क्यान्सर रोगी न्यून गराउन गाउँगाउँमा जनचेतना फैलाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले बताए । बिरामीको उपचार सुलभ बनाउन राज्यको तर्फबाट आवश्यक सहयोग भइरहेको छ । क्यान्सर दिवसमा मात्र सीमित नभएर यो रोगविरुद्ध अन्य समयमा पनि सर्वसाधारणमा जनचेतना फैलाउन सके सकारात्मक सन्देश जाने उनले बताए ।
क्यान्सरविरुद्ध तयार पारिएको “हामीले गर्न सक्छौं, मैले गर्न सक्छु” भन्ने नाराका साथ क्यान्सर दिवस मनाइँदै गर्दा यसले कति सार्थक रुप लिन सक्ला ? त्यो भने हेर्न बाँकी नै छ ।
अङ्ग्रेजी वर्षको फेब्रुअरी महिनाको ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाइँदै आएको छ । यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो । रासस