
भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा ४ जना शङ्कास्पद विद्राेही लडाकु, २ भारतीय सेना र २ जना सर्वसाधारणको मृत्यु भएको छ ।
श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा ३ सैनिक घाइते समेत भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
“फ्रिसलमा भएको भिडन्तमा ४ विद्रोही लडाकु मारिएका भारतीय सेनाका प्रवक्ता कोल राजेश कालिआले बताए । आइतबार बिहानै गोली हानाहान र विस्फोटनको आवाज सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।
यस क्षेत्रमा पाकिस्तानी र भारतीय पक्षबीचमा सन् १९४७ देखि नै विवाद रहे पनि सन् १९८९ देखि बेलाबखत युद्ध हुने गरेको छ भने द्वन्द्वका कारण दशौं हजार मानिसले ज्यान गुमाइसकेका छन् । हिमाली क्षेत्र काश्मिरलाई भारत र पाकिस्तान दुवैले आफ्नो देशको भू–भाग भएको दाबी गर्दै आइरहेका छन् ।