
विद्रोही लुकेर अखडा जमाएका स्थानमा सुरक्षाकर्मीले चलाएका देशव्यापी छापामार अपरेसन अभियानका क्रममा कम्तिमा उनान्चालीस संदिग्ध सशस्त्र विद्रोहीले ज्यान गुमाएको समाचार छ ।
सिन्ध प्रान्तको दक्षिणमा पर्ने सेहवान नगरमा अवस्थित प्रसिद्ध लालशाहवाज कालन्दर मस्जिदमा बिहीबार दिउँसो नमाज पढ्दै गरेका सिते समुदायका सुफी भक्तजनको भीडमा एक जना आत्मघाती आक्रमणकारी प्रवेश गरी शक्तिशाली बम बिस्फोट गराउँदा घटनास्थलमै ७५ जनाको विभत्स मृत्यु हुनुका साथै सयौँ घाइते भएका थिए ।
अन्तर्राष्ट्रिय विद्रोही सङ्गठन इस्लामिक स्टेट्स (आर्इएस) ले सिते समुदायका मुस्लिमलाई सखापै पार्ने योजनाअनुरुप सो घटना गराएको दाबी गरेको थियो । घटनापश्चात् तत्कालै सुरक्षाकर्मी परिचालित भर्इ विद्रोहीको तीब्र खोजी गर्ने प्रयास गरिरहेका थिए ।
यसैबीच सुरक्षाकर्मीले आशंकित स्थानमा रातभरि छापा मारी शुक्रबार बिहान केही सिन्ध निवासीसहित ४७ जना संदिग्ध सशस्त्र विद्रोहीलाई पक्राउ गरी नियन्त्रणमा लिएका सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन् ।
धेरै वर्ष अघिदेखि सेना र सुरक्षाकर्मीले सशस्त्र बिद्रोही तथा आतङ्ककारीको खोजी र नियन्त्रणमा थुप्रै अपरेशन सञ्चालन गर्दै आइरहेका छन् । समग्र राष्ट्रलाई नै क्षणभरमै स्तब्ध तुल्याउने यस आक्रमण र आमहत्या विगतदेखिकै पहिलो भयानक र विभत्स घटना भएको र यसले सिङ्गो राष्ट्रको सुरक्षा व्यवस्थामा अधिकारीको क्षमतामै गम्भीर प्रश्नचिन्ह खडा गरेको रूपमा लिइएको छ ।
संदिग्ध विद्रोही लुकेर अखडा जमाएका स्थानमा पाकिस्तानी सुरक्षाकर्मीले चलाएका देशव्यापी छापामार अपरेसन अभियानमा कम्तिमा उनान्चालीस संदिग्ध सशस्त्र विद्रोहीले ज्यान गुमाएका हुन् ।