newskoseli.Com

‘वार्तामा बसौं’ : पाकिस्तानी राष्ट्रपतिको भारतसँग प्रस्ताव

पाकिस्तानी राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् ।

पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामावादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरमा भइरहेको विवाद सहितका सबै विवादको समाधान वार्ताको माध्यमबाटै खोज्न आह्वान गरेका हुन् । उनले भारतीय गैरजिम्मेवार व्यवहार र हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको बताए । यसअघि सन् २००३ मा दुवै देशले युद्धविराम गरेका थिए ।

“संयुक्त राष्ट्रसङ्घको समन्वयमा वार्तामार्फत् काश्मीर समस्याको समाधान गर्न हामी भारतसँग वार्तामा बस्न तयार छौं”, उनले भने– “काश्मीरका जनताले स्वविवेकीय निर्णय गर्न पाउने अधिकारको हामी नैतिक, राजनीतिक र कूटनीतिक हिसाबले सहयोग गर्न सधैं तयार छाैं ।”

भारत बेलायती उपनिवेशबाट मुक्त भएका बेला सन् १९४७ देखि अहिलेसम्म भारत र पाकिस्तानका बीचमा ३ वटा युद्ध भएका छन्, तीमध्ये २ वटा युद्ध काश्मीरसँग नै सम्बन्धित छन् । पाक राष्ट्रपतिले भारत र पाकिस्तानका बीचमा शान्तिपूर्ण वार्ता गराउन अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

पाकिस्तान कुनै पनि देशका विरुद्धमा आक्रोशित नभएको दावी गर्दै उनले क्षेत्रीय शान्ति र समृद्धिका लागि पाकिस्तानले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने दावी गरे । पाकिस्तानले आफूलाई पहिलाभन्दा अहिले सुरक्षित ठानेको पनि राष्ट्रपति हुसेनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर