newskoseli.Com

के भन्यो चन्द माओवादीले आफ्ना नेता एमाओवादीतिर लागेपछि ?

आफ्नो पार्टी, समूह वा गुटमा छउन्जेल अपराधीका ‘सातखत माफ’ गरेर भ्रष्ट, तस्कर, दलाल, चरित्रहीन इत्यादि सबैलाई महान् क्रान्तिकारीका रुपमा प्रचार गर्ने अनि आफ्नो पार्टी, समूह वा गुटबाट बाहिरिँदै अन्यत्र लागेपछि भने असल, सही, निष्ठावान्, त्यागी, प्रतिभावान् मान्छे भए पनि उसलाई फटाहा, भगौडा, तस्कर, दलाल, ठग आदिइत्यादि फत्तुरहरुको पगरी गुथाउने नेपाली कम्युनिस्ट आन्दोलनको जानेमानेकै ‘विरासत’ यतिबेला मज्जाले दोहोरिइरहेको छ ।

अहिले मोहन वैद्यलगायतले रामबहादुर थापालगायतलाई र नेत्रविक्रम चन्द तथा उनको समूहमा रहनेहरुले एकता प्रक्रियामा जोडिन पुग्नेहरुलाई यस्तैयस्तै फत्तुरहरुको बाढी लगाउन थालेका छन् । यसै मेसोमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो समूह छाडेर एकता प्रक्रियामा जोडिन पुगेका नेताहरुमाथि फत्तुरहरुको ओइरो लगाएका छन् ।

‘हिजोआज माओवादी पार्टीहरुको एकता र त्यसबारे गरिएका प्रचारवाजीसँग हाम्रो पार्टीलाई जोडेर गरिएको षड्यान्त्रबारे स्पष्ट पार्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ’ भन्दै चन्द माओवादीका प्रवक्ता विश्वकर्माले विज्ञप्तिमा भनेका छन्– ‘तथाकथित माओवादीहरुको एकताको प्रचारवाजी र त्यससँग हाम्रो पार्टीको नाम जोड्ने षड्यन्त्र, दुस्साहस र बदनियतप्रति पार्टी घोर आपत्ति व्यक्त गर्दछ । यसलाई पूराका पूरा खारेजी गर्दछ । पार्टीसँग नाम जोडेर प्रचार गरिएका मान्छेहरुले पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा र त्यसको स्पिरिटमा जिम्मेवारी बहन गर्न नसकी घरमा बसेपछि पार्टी केन्द्रीय समितिले सम्पूर्ण जिम्मेवारीबाट उहिल्यै हटाइसकेका मान्छेहरु हुन् । यी मान्छेहरुलाई जोडेर एकताको राग अलाप्ने तत्वहरु र हाम्रो पार्टीको प्रभाव एवं लोकप्रियताको वैशाखी टेकी आफ्नो पद प्राप्तिको सौदावाजी गर्न दुस्साहस गर्ने व्यक्तिहरुलाई पार्टी खबरदारी गर्दछ । पार्टीको दुरुपयोग तथा बदनाम गर्ने मूर्खता गरियो भने पार्टीले जो–कसैलाई पनि छुट दिन नसक्ने कुरा समेत स्पष्ट गर्दछ ।’

प्रवक्ता विश्वकर्माले विज्ञप्तिमा अगाडि उल्लेख गरेका छन्– ‘माओवादीहरुको एकताको नाममा गरिएको गतिविधि र प्रचारवाजी क्रान्तिकारी र नेपालमा जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नभएर विद्यमान दलाल संसदीय व्यवस्थामा पतन भएका गुटउपगुट र झुन्डहरुको गठजोड मात्र भएको कुरा पनि हाम्रो पार्टी स्पष्ट गर्न चाहन्छ । यो स्वार्थी गठजोडले नेपाली जनयुद्धका १० वर्षका उपलब्धिहरुको रक्षा, ०६३ सालयताको प्रतिक्रान्तिमाथि क्रान्तिकारी हस्तक्षेप र नेपाली जनवादी क्रान्तिको बाँकी अभिभारा पूरा गर्ने होइन कि त्यसका विरुद्ध देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशनमा षड्यन्त्र गर्ने, भ्रम फैलाउने र दलाल संसदीय व्यवस्थाको रक्षाकवच मात्र बन्ने हो । राजनीतिक लासहरु बोकेर हाम्रो पार्टीका विरुद्ध प्रचारवाजी गरिनुले त्यस कुराको सुरुमै पुष्टि हुन्छ । तसर्थ, माओवादीहरुको एकताको नाममा गरिएको कसरत र गोयबल्स शैलीको प्रचारबाजीको भ्रममा नपर्न सम्पूर्ण पार्टीपंक्ति, इमानदार माओवादीहरु, क्रान्तिकारी कम्युनिस्टहरु, प्रगतिशील एवं राष्ट्रवादी शक्ति र आमजनसमुदायमा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’

चन्द माओवादीको स्थायी समिति सदस्य समेत रहेका नेता विश्वकर्माले विज्ञप्तिको अन्त्यमा लेखेका छन्– ‘राष्ट्रियतामाथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिसन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योगधन्दा एवं व्यवसायीहरुको टाटपल्टाइ र कहालीलाग्दो जनजीविकालगायत यावत समस्याका विरुद्ध हाम्रो पार्टीले जेठ ७ गते बेपत्ता योद्धाहरुको स्मृतिको दिन पारेर विशाल विरोध प्रदर्शन र जनसभा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पार्न कार्यक्रममा सहभागिताका निम्ति हाम्रो पार्टी न्यायप्रेमी आमजनसमुदायमा हार्दिक अनुरोध गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर