newskoseli.Com

बौद्धमार्गीहरुको र्‍यालीमा गोली प्रहार, ७ को मृत्यु

म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्‍यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा ७ व्यक्तिको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको र्‍याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाइ छ । एक जना प्रहरी अधिकारीले भनेका छन्– उक्त र्‍यालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीका क्रमका सात व्यक्तिको मृत्यु भएको हो ।

झडपमा परी अरू एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले एएफपी समाचार समितिलाई बताएको छ । रोहिङ्या मुसलमान समुदायको बलियो प्रभाव रहेको भनिएको सो राज्यबाट हाल ६ लाखभन्दा बढी रोहिङ्ग्या भागेर बङ्गलादेश पुगेका छन् ।

केही महिनादेखि भएको सैनिक दमनका कारण उक्त राज्य अस्तव्यस्त भएको छ । राखिनमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौंको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रदर्शनकारी जम्मा भएका थिए । यसरी जम्मा भएको जुलुस के कारणले अचानक हिंसामा परिणत भएको हो भन्नेबारे प्रस्ट हुन सकेको छैन ।

हिंसामा उत्रेको भीडलाई तितरबितर पार्न चेतावनीस्वरुप रबरको गोली प्रहार गरेको र प्रदर्शनकारीहरु त्यसपछि पनि नरोकिएपछि गोली नै प्रहार गर्न बाध्य भएको प्रहरीले बताएको छ । म्यानमार प्रहरीका प्रवक्ता कर्णेल म्यो सोएले एएफपी समाचार समितिलाई बताए अनुसार उक्त भीडले सरकारी कार्यालय कब्जा गर्न खोजेको र त्यसपछि प्रहरीले बाध्य भएर गोली हान्नुपरेको थियो ।

मंगलबार राति एमरक यु मन्दिर परिसरमा भएको यस हिंसामा ७ को मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएको प्रहरी प्रवक्ता सोएले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर