newskoseli.Com

प्रोग्रसिभ म्यानपावरमाथि किन हुँदैन कारबाही ? कतारमा युवाहरूको बिचल्ली…

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा बिचल्लीमा परेका छन् ।

काठमाडौंस्थित प्रोगेसिभ प्लेसमेन्ट सर्भिसेज नेपाल प्रा.लि. नामक कम्पनी (म्यानपावर) मार्फत जनही ७५ हजार रूपैयाँका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका– ९, लिच्कीराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कन समेत रोकेपछि उनीहरू बिचल्लीमा परेका हुन् ।

टायल मेसनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेसनल कम्पनीमा पुगेका राईद्वयले खाना खाने रकम समेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको छ । हाललाई काम नभए पनि केही दिनपछि काम हुने भन्दै कम्पनीले घर फर्कन समेत रोकिरहेको धनकुमार राईले बताए ।

सेटलाइट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि नेपालको मेनपावरमा भनिएभन्दा अप्ठ्यारो हुने राईले बताएका छन् । कम्पनी टाट पल्टिएकाले गर्दा काम–दाम नपाएको बताउने धनकुमारका अनुसार काम सुरु हुनासाथ काममा लगाउने र तलब दिने भन्दै कम्पनीले जबर्जस्ती रोकिरहेकाे छ ।

बिचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुविधा नदिने कम्पनीले बताएकाे छ । हाल बसेको तथा खाएको रकम काम सुरु भएपछि पाउने तलबबाट कटाउने बताइएको पीडितहरूले जनाएका छन् । बिचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि ऋण लिएर कतार गएका राईद्वयले सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन् ।

अाफूहरूलार्इ तत्कालै नेपाल फर्काउने पहल गरिदिन सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएकाे दिक्तेल बजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले अनुरोध गरेका छन् । अरुण र धनकुमारसँगै उक्त कम्पनीमा पुगेका नवलपरासीका भमबहादुर मगर, उदयपुरका दीपबहादुर माझी र कैलाली टीकापुरका नन्दसिं साउद समेत बिचल्लीमा परेका छन् ।

वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएका कागजातको प्रतिलिपि समेत कामदारसँग नभएको पाइएको परामर्शकर्ता अम्बिका दाहालले बताइन् । पिपुल्स फोरमसँगको समन्वयमा उद्धारको पहल गरिदिन सूचना केन्द्रले वैदेशिक रोजगार विभागमा निवेदन दिने परामर्शकर्ता दाहालको भनाइ छ । पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्याराेमा परेकालाई निःशुल्क कानुनी पैरवीको काम गर्छ ।

आफ्नो म्यानपावरबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेका प्रोगेसिभका निर्देशक श्यामप्रसाद श्रेष्ठले उल्टै कामदारको पैसा लिएर फर्किएको धनकुमारले बताए । “खाना खाने रकम समेत नभएपछि कम्पनीले दिएको पैसा निर्देशक श्यामप्रसाद श्रेष्ठ आफैंले लिएर नेपाल फर्के”, उनले भने– “अहिले कतारमै रहेका नेपाली साथीले दिएको केही रकमले श्वास अल्झाउने काम भइरहेको छ ।”

कामदारका लागि स्वयं म्यानपावरका निर्देशक श्याममार्फत रकम दिँदा उचित हुने ठानेर खानाका लागि ५ सय रियल उपलब्ध गराए पनि उनले बदमासी गरेको जानकारी कम्पनीका मुदिर (मालिक) ले दिएको परामर्शकर्ता दाहालले बताइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर