
“हप्तामा तीन पल्ट डायलासिस गर्नुपर्छ, १ हजार २ सय रूपैयाँको रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो”– मिर्गौला रोगी अमृता भण्डारीले भनिन् । जीविकोपार्जन भत्तास्वरुप वीर अस्पतालमा बिहीबार मासिक ५ हजार रूपैयाँ बुझेपछि उनले त्यसो भनेकी हुन् ।
मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक ५ हजार रूपैयाँ दिने निर्णय मन्त्रिपरिषद्को पुस १३ को बैठकले गरेको थियो । सोही निर्णय बमोजिम वीर अस्पतालमा भत्ता वितरण सुरू गरिएको हो । यो भत्ता वितरण गर्ने वीर अस्पताल नै पहिलो हो ।
दुवै मिर्गाैला खराब भएपछि पुरानो नैकापकी ४० वर्षीया भण्डारी ६ वर्षदेखि वीर अस्पतालमा डायलासिस गराउँदै आएकी छन् । “मलाई खुशी लागेको छ, हुन त उपचारमा महिनाको ६० हजार रूपैयाँभन्दा बढी खर्च हुन्छ तर पनि ५ हजार सहयोगले पनि ठूलो राहत हुन्छ”– उनले भनिन् ।
५ हजार सहयोगस्वरुप दिने सरकारको निर्णय सकारात्मक भए पनि जीविकोपार्जन भनी नामकरण गरिनुमा चित्त नबुझेको एक वर्षअघि ठूलो आन्द्राको क्यान्सरबाट मुक्ति पाएकी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारकाे प्रतिक्रिया छ । उनले भनिन्– “५ हजार रूपैयाँले जीविकोपार्जन हुन्छ र ? यो रकम यातायातमै सकिन्छ तर पनि यो पहल सकारात्मक छ, कम्तिमा सुरु भयाे, यसलाई बढाउँदै लैजानुपर्छ ।”
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आयोजित रकम वितरण शुभारम्भ कार्यक्रममा बाेल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला रोगका बिरामीका लागि सानो रकम भए पनि सरकारले सहयोग गर्न खोजेको बताए ।
प्रधानमन्त्री देउवाले भने– “यसबाट बिरामीको उपचारका क्रममा पोषकयुक्त खाना र उपचार गर्न अस्पताल आउन–जानका लागि यातायातमा थोरै भए पनि राहत हुनेछ भन्ने विश्वास लिएको छु ।”
कसरी लिने भत्ता ?
उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि चिकित्सकको पूर्जी (प्रिस्किप्सन), जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिसपत्र, नागरिकताको फोटोकपी, बच्चाको जन्मदर्ताको फोटोकपी लिएर सूचीकृत अस्पतालको सामाजिक सेवा एकाइमा सम्पर्क राखी भुक्तानी लिन सकिनेछ ।
कस्ता बिरामीले पाउँछन् ?
रोग पहिचान भई उपचार गराइरहेका बिरामी र शल्यक्रियापछि पनि औषधि खानुपर्ने बिरामीले याे भत्ता पाउँछन् । पहिले रोग लागी निको भइसकेका औषधि खानु नपर्ने बिरामीले भने भत्ता पाउँदैनन् ।