newskoseli.Com

सरकारका प्रवक्ताले माओवादी पार्टीलाई दिए ‘नाङ्ले पसल’ को संज्ञा ! (भिडियोसहित)

मन्तव्यको मुख्य अंश हेर्नोस् भिडियोमा–

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले विगतको माओवादी पार्टीलाई ‘नाङ्ले पसल’ को संज्ञा दिएका छन् ।

१५ वर्षअघि तत्कालीन राज्य पक्षद्वारा प्रहरी हिरासतभित्रै चरम यातना दिएर हत्या गरिएका वरिष्ठ साहित्यकार एवं चर्चित जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १६औं स्मृति दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन माओवादी पार्टीका अध्यक्ष एवं हाल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि राज्यमन्त्री बास्कोटाले माओवादी पार्टीलाई ‘नाङ्ले पसल’ को संज्ञा दिएका हुन् ।

‘मैले त तीन वर्ष अगाडि नै सम्माननीय पुष्पकमल दाहालज्यू प्रमुख अतिथि भएको एउटा कार्यक्रममा उहाँलाई नै भनेको थिएँ– यो नाङ्ले पसल बन्द गरिदिनुस्, मेरो आफ्नै जिल्लामा भएको कार्यक्रममा,’ राज्यमन्त्री बास्कोटाले भने– ‘त्यसका निम्ति तीन वर्ष कुर्नुपर्‍यो तर सपना र चाहनाहरु यथार्थ जीवनमा अनुदित भए, जसप्रति हामी गर्व गर्न सक्छौं, खुशी साट्न सक्छौं ।’

‘दुई कम्युनिस्ट पार्टीहरुका बीचको एकता आम जनताको सपनासित जोडिएको छ, न कि दुईटा नेताहरुको इच्छासित मात्रै,’ उनले भने– ‘व्यक्तिगत रुपमा म यो एकताप्रति धेरै नै खुशी छु ।’

लामो समय पत्रकारिताको अभ्यासबाट आएर अहिले सञ्चार मन्त्रालय सम्हालेका राज्यमन्त्री बास्कोटाले ‘मर्यादित र जिम्मेवार’ पत्रकारिताबारे चर्चा गर्दै भने– ‘प्रेस स्वतन्त्र रहन्छ तर स्वच्छन्द रहँदैन, स्वतन्त्रता र स्वच्छन्दताका बीचमा केही भिन्नता हुन्छ जस्तो लाग्छ ।’

‘अहिले खासगरी सोसल साइटको कुरा जसरी आएको छ, अनलाइन त बदनाम छ नि सोसल साइटका कारणले, जे पनि लेख्दया छ, टाउको जोडेर जे पनि लेख्दया छ, उल्टोपाल्टो बनाइदया छ, त्यही हो पत्रकारिता ?’ ठट्यौली पारामा तर चेतावनी शैलीमा उनले भने– ‘त्यसैले यो कुरामा चाहिँ मलाई पनि धेरै नपढाउनुहोला साथीहरुले, म त्यहींबाट आएको हुँ ।’

थप यो पनि पढ्नुहोस्–
‘भाग नपुगेका’ नेतालाई यसरी फकाए प्रचण्डले (भिडियो)
इच्छुकको स्मृतिमा प्रेस सेन्टरका अध्यक्षले सुनाए उनकै कविता (भिडियोसहित) !

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर