
निरन्तरको मुसलधारे वर्षाका कारण केरलामा आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित भएका छन् ।
दक्षिण भारतीय सो इलाकामा पहिरो तथा डुबानमा परी यसै महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । बाढी तथा पहिरोका कारण केरलाका नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएपछि बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग गर्दै भारतीय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।
प्रधानमन्त्रीलाई शनिबार लेखेको पत्रमा अध्यक्ष गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री मोदीको त्यसै समस्याप्रति ध्यानाकर्षण गराएका छन् । गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त बजेटको प्रबन्ध गर्न पत्रमार्फत आग्रह गरेका हुन् । बाढीले केरलाका कयौं जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि बालीलाई व्यापक प्रभावित बनाएको छ ।
केरला राज्यमा विगत पाँच दशककै सबैभन्दा ठूलो विपद देखिएको र यसबाट ठूलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख गरेका छन् । बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि नेता राहुलले पत्रमा उल्लेख गरेका छन् ।
नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छाडेको र यो प्रभाव किसानका लागि ठूलो धक्का भएको उल्लेख गरेका छन् । बाढी तथा पहिरो र डुबानका कारण केरलामा विद्युत् आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत आएकाले त्यसलाई पुरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेको समेत उनले पत्रमा उल्लेख गरेका छन् ।
केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरला सरकारसँग समन्वयका साथ अघि बढ्ने र पीडितले राहतको महशुस गर्ने गरी बजेटको निकासा हुनेमा कङ्ग्रेस अध्यक्ष गान्धीले विश्वास व्यक्त गरेका छन् ।
हालैको वर्षापछि बाढी–पहिरो तथा डुबानका कारण ज्यान गुमाएका मृतकका परिवारजनलाई केरला सरकारले शनिबार ४ लाख भारतीय रुपैयाँ राहतको घोषणा गरेको छ । बाढीमा घर तथा व्यापक खेतीबाली गुमाएका नागरिकलाई प्रतिपरिवार १० लाख भारतीय रूपैयाँ दिने प्रतिबद्धता केरला सरकाले जनाएको छ ।