मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएनएकेडब्लु) जहाज अवतरणका क्रममा बिहीबार राति चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ ।
नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो । तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो ।
निगमको प्राविधिक स्रोतका अनुसार जहाजमा एउटा मात्र नभई चराहरूको बथान नै ठोक्किएको आशंक गरिएको छ । तर, कुन प्रजातिको चरा हो भन्नेबारे पहिचान खुलेको छैन ।
शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन (भित्र–बाहिर), फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।