नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शनिबार भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै नेपाल सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् ।
नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तर्क्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत मोदीले बताए । ‘दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान् योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो,’ भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘उच्च तहमा भएको अन्तर्क्रियाबाट नेपाल–भारत सम्बन्धले उच्चतम गतिमा बढावा प्राप्त गरेको छ ।’
औपचारिक भ्रमणमा बिहीबार दिल्ली पुगेका प्रचण्डले प्रधानमन्त्री मोदीसँग शनिबार शिष्टाचार भेट गरेका हुन् । मोदीनिवास– ७, लोककल्याणमार्गमा करिव १ घन्टा लामो भेटवार्ता भएको थियो । प्रचण्डको सचिवालयका अनुसार वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको आपसी भ्रमण, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास–निर्माणको सम्भावनाबारे छलफल भएको थियो ।
३१ भदौ, ०७३ मा प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो राजकीय भारत भ्रमण स्मरण गर्दै मोदीले त्यसबेला भएका सहमति कार्यान्वयन हुने पनि उल्लेख गरेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।