नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रमस्वीकृति दिइरहेको छ ।
कुन शैक्षिकस्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भैरहेका छन् भने विदेशीले सजिलै श्रमस्वीकृति पाइरहेका छन् । नेपालमा उत्पादन भएको दक्ष जनशक्तिलाई बेवास्ता गर्दै सामान्य कामका लागि समेत सरकार आफैंले श्रमस्वीकृति दिएर विदेशीहरूलाई भित्र्याएको छ । यसले गर्दा नेपालमा उत्पादन भएको दक्ष जनशक्ति पलायन हुने क्रम बढ्दो छ भने तलबलगायतका शीर्षकमा अर्बौं रूपैयाँ धनराशि विदेशिएको छ ।
विदेशी लगानीका कम्पनी–उद्योगका विज्ञमा विदेशीलाई श्रमस्वीकृति दिन सकिने श्रमविज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराईले बताए । ‘नेपालीले सिक्नुपर्ने र प्राविधिक दक्षता नभएका काममा विज्ञका रूपमा विदेशीलाई श्रम स्वीकृति दिनु हुन्छ,’ भट्टराईले भने– ‘नेपालीसँगै प्राविधिक दक्षता भएको विषयमा भने विदेशीलाई श्रमस्वीकृति दिनु जरुरी छैन, नेपाली अहिले हरेक विधामा दक्ष भइसकेका छन् ।’
विद्यालय तहका शिक्षकदेखि प्रोजेक्ट म्यानेजरसम्म विदेशीले श्रमस्वीकृति लिएका छन् । शिक्षकमा हरेक विषयका दक्ष जनशक्ति नेपालमै प्रशस्तै पाइन्छन् । उपत्यकाका विभिन्न स्कुल र शैक्षिक संस्थामा विदेशी शिक्षकहरूले पढाइरहेका छन् । ती स्कुलले अन्तर्राष्ट्रियस्तरको पठनपाठन हुने भन्दै विदेशी शिक्षक भित्र्याएका हुन् ।
श्रम विभागका अनुसार शिक्षक, पाइलट, इन्जिनियर, स्टेसन म्यानेजर, नर्स, प्रोजेक्ट म्यानेजर, कन्ट्री डाइरेक्टरलगायतमा विदेशी नागरिकले काम गर्दै आएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।