प्रहरीका अनुसार घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले साउन १० मा नै दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् ।
धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यस क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिव ४ देखि साढे ४ बजेतिर सन्दीपले घटनास्थल नजिकैको नहरमा साइकल देखेको बताए । त्यसपछि आमा जमुनाले होमवर्क गर्न छाडेर आफूहरूको पछि लागेको भन्दै छोरालाई हप्काइन् । धनाले नहरतिर हेरिन् ।
‘साइकल पानीमा डुबेको अवस्थामा थियो त्यसैले रङ त थाहा भएन, एकापट्टिको हेन्डिलको कालो भाग र आधा डुबेको सिटको कालो भागसम्म देखेकी हुँ, कसैले थोत्रो भएर फालेको होला भनेर वास्ता गरिनँ’– उनले भनिन् । भोलिपल्ट निर्मला हराएको खबर सुनेर उनीहरू त्यस स्थानमा पुग्दा एक जना पाका उमेरका मानिस साइकललाई बाहिर निकालेर पुछ्दै थिए । ती हुन्– साधुराम चौधरी, जो एक स्थानीयको घरमा कामदार छन् । चौधरीका अनुसार उनले पहिलो पल्ट साइकल देख्दा पछाडिको पांग्रा माथिपट्टि उठेको थियो । ‘मैले साइकल तानेर बाहिर ल्याएँ, साइकलको एउटा ह्यान्डलमा एउटा चप्पल सिउरिएको थियो ।’
यस घटनामा तत्कालीन एसपी डिल्लीराज विष्टको भूमिकालाई लिएर पीडित परिवार र स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् । तर, नयाँ छानबिन टोलीले पनि विष्ट, घटनास्थल पुग्ने र अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा कर्मचारीमाथि उचित छानबिन गरेको देखिँदैन ।
निर्मलाको सुरुवाल पखालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पीडित परिवार र स्थानीयमा आक्रोश चुलिएको छ । तर, सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी सावदले मानिसको भीड बढ्दै गएपछि आफूले सुरुवालले निर्मलाको यौनांग छोपिदिएको बताइन् ।
‘कसैले अह्राएको होइन तर मानिसहरूको भीड बढ्दै गएपछि मैले सुरुवालले निर्मलाको गुप्तांग छोपिदिएकी हुँ, मलाई त्यसबेला केही हेक्कै भएन, सुरुवाल पखालेको पनि पछि भिडियो हेरेर थाहा पाएँ, मलाई कसैले त्यसो नगर भनेर पनि रोकेन ।’
राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नेदेखि प्रभावकारी अनुसन्धान गर्नेलगायत कार्यमा सुरुदेखि नै गम्भीर त्रुटि गरेको औंल्याएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।