कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ‘ज्यानको सुरक्षा’ माग गरेका छन् ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका हुन् । समितिमा प्रदेश– ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।
समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै आफूले राजीनामा दिएको उपसचिव केसीले जनाएका छन् । १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर आफूले राजीनामा दिएको उनले बताए । ‘म्याद थप भएपछि मैले समितिमा बसिरहन उपयुक्त ठानिनँ,’ केसीले भने– ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ ।’
१५ दिन म्याद थप्दा कानुनी समस्या समेत आउने केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् । समितिको १५ दिनको म्याद आइतबार समाप्त भएको हो । २५ दिनभन्दा बढी हिरासतमा राख्न नपाइने कानुनी प्रावधानले समयमा प्रतिवेदन पेस नगर्दा अपराधी उम्कन सक्ने प्रबल सम्भावना रहेको केसीको विज्ञप्तिमा उल्लेख छ । आफूले समितिबाट राजीनामा दिएको कुरा हुलाकमार्फत संयोजक र गृह मन्त्रालयमा पठाएको उनले बताए ।
घटना छानविनका क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा आफ्नो ज्यान जोखिममा रहेको उनले उल्लेख गरेका छन् । जीवनरक्षाका लागि सहयोग गरिदिन उनले नेपाल सरकार, मानवअधिकार आयोगर राष्ट्रसंघीय मानवअधिकार उच्चायोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्, नागरिक समाज र राजनीतिक दललगायतमा अपिल गरेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।