सरकारको कार्यशैलीप्रति आमनागरिकमा निराशा बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन् ।
पूर्वमाओवादी केन्द्रबाट गृहमन्त्री भएका रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् । प्रचण्डको सहमति लिएर नै ओलीले बादल र यादवलाई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको स्रोतको दावी छ ।
त्यसैगरी, पूर्वएमालेबाट मन्त्री भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिलाई पनि हटाउने गृहकार्य भइरहेको स्रोतको दावी छ ।
कुन–कुन मन्त्रीहरुलाई हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच मोटामोटी सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली प्रचण्ड भारत भ्रमणमा जाने बेलामा नै केही मन्त्रीहरुलाई हेरफेर गर्ने मनस्थितिमा पुगिसकेका थिए ।
यता, प्रचण्डले पनि दुई–चार जना मन्त्री हट्न सक्ने भन्दै सार्वजनिक रुपमै ‘जनताको पक्षमा काम नगर्ने मन्त्री हटाइने’ बताएका थिए । उनले गत मंगलबार आफ्नै निवासमा पार्टी निकटका ‘पत्रकार’ हरुलाई बोलाएर यस्तो संकेत गरेका थिए । मन्त्रीहरूको फेरबदल गर्ने विषयमा ओली र प्रचण्डबीच सोमबार साँझ गम्भीर कुराकानी भएको बालुवाटार स्रोतले दावी गरेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।