newskoseli.Com

एसपीसहित १६ प्रहरीमाथि छानबिन सुरु : निर्मला हत्या प्रकरण…

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ ।

पन्तको बलात्कार र हत्या घटना अनुसन्धानमा संलग्न एसपी डिल्लीराज विष्टसहित नौ अधिकारीसँग समितिले सोमबार मात्रै प्रहरी प्रधान कार्यालयमा बयान लिएको छ । अनुसन्धानमा प्रत्यक्ष संलग्न १६ जनाको बयान लिने तयारी अनुरूप सबैलाई प्रधान कार्यालयमा बोलाइसकिएको छ ।

सबैजसो अधिकारीसँग अनुसन्धानमा उनीहरूको भूमिका के थियो, अनुसन्धान कसरी अगाडि बढाइयो भन्नेदेखि अनुसन्धान निष्कर्षमा पुग्न नसक्नुको कारणबारे सोधिएको छ । समितिले निर्मला पन्तको अनुसन्धानमा संलग्न ६ जनाको बयान लिइसकेको छ भने अन्यको पनि पालैपालो बयान लिइनेछ ।

प्रत्यक्ष रूपमा घटनाको अनुसन्धानमा खटिएकाहरूको ‘पोलिग्राफ टेस्ट’ समेत गर्ने समितिको तयारी छ । एक सदस्यका अनुसार घटना कसरी घट्यो र दोषी को हो भन्दा पनि प्रहरीको अनुसन्धानमा कहाँ, कसरी र कस्तो त्रुटि भयो भन्नेमा समिति केन्द्रित भएको छ ।

यसअघि भदौ १४ मा प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा समिति गठन गरे पनि केही दिनमै उनी नियमित कार्यक्रममा सहभागी हुन चीन पुगेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनी एक सातापछि मात्रै नेपाल आइपुग्नेछन् ।

समितिको नेतृत्व गरेकै व्यक्ति चीन गएपछि र त्यसलगत्तै गृहले अनुसन्धानमा संलग्न अधिकारीलाई निलम्बन गरेपछि दबाबमा परेको प्रहरीले डीआईजी बस्नेतको नेतृत्वमा समिति गठन गरेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर