newskoseli.Com

दुईतिहाइको ओली सरकार असफल ? चर्कंदो आन्तरिक अन्तर्विरोध, नागरिकमाथि महँगीको भारी…

समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुईतिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक आलोचना सुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि झन् बढ्ता महँगी थोपरिएको छ ।

दसैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको छ । ७ महिनाको अवधिमा सरकार मूलतः नारा र भाषणमा मात्र बढी केन्द्रित भएको छ । नागरिकले सरकारको कामलाई परिणाममा हेर्न चाहेका छन् तर व्यवहारमा महशुस हुने गरी परिवर्तनको आभाष पटक्कै पाउन सकेका छैनन् ।

विगतमा राजनीतिक अस्थिरताका कारण काम गर्न नसकेको भन्दै पन्छिने चलन थियो, यस पटक पाँच वर्षको स्पष्ट म्यान्डेटसहित गठन भएको दुईतिहाइ बहुमत प्राप्त सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजनीतिक अस्थिरताको कुरा त केवल अयोग्य नेताहरुको बहानाबाजी मात्र भएको देखिएको छ ।

देशभर बलात्कारका घटना बढ्दो क्रममा छन् । कञ्चपुर घटनाले सिंगो सरकारमाथि नै प्रश्नचिह्न खडा भएको छ । सरकारका मन्त्रीहरु काममाभन्दा पनि भाषण र उदघाटनमा बढी रमाउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने विदेश भ्रमणमा गएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मात्र होइन, आफ्नै पार्टीभित्रबाटै समेत सरकार र प्रधानमन्त्रीको चर्को आलोचना सुरु भएको छ ।

पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा नेताहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायत विभिन्न तहका धेरै नेता–कार्यकर्ता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग रुष्ट भएका छन् ।

सरकारको प्रतिरक्षा गर्न अरिङ्गाल झैं भएर लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको केही साता पनि बित्न नपाउँदै आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष चाहिँ बरु संसददेखि सडकसम्म उल्टै सरकारविरुद्ध नै अरिङ्गालजस्तै खनिएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर