त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहमा ‘कानुन शिक्षा’ अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ ।
अधिकतम ५ सय क्षमताको त्रिविको आंगिक क्याम्पस ‘नेपाल ल क्याम्पस’ मा झन्डै ११ हजार विद्यार्थी ‘एलएलबी’ अध्ययनका लागि भर्ना भएका छन् ।
अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि र पूर्वमन्त्री समेत नेपाल ल क्याम्पसमा विद्यार्थीका रुपमा भर्ना भएका छन् । नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीका अनुसार एलएलबी प्रथम वर्षमा शुक्रबारसम्ममा १० हजार ८ सय ४५ विद्यार्थी भर्ना भएका छन् ।
यो वर्ष पूर्वश्रममन्त्री सरिता गिरीलगायतका केही नेता समेत भर्ना भएको पराजुलीले बताए । ‘आश्चर्यजनक तरिकाले विद्यार्थी भर्ना हुन आए’– उनले भनेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।