नेकपाका नेता वामदेव गौतमले काठमाडौं– ७ बाट उपचुनाव लड्ने सम्भावना बढेको छ ।
डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायत जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं– ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खालि गर्ने भएका छन् ।
मानन्धरले राजीनामाका लागि नेकपाको सचिवालय बैठकमा सोमबार निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै बुधबार बस्ने सचिवालय बैठकबाट गौतमलाई सो क्षेत्रको उम्मेदवार बनाउने नेकपाको तयारी छ ।
मानन्धरले बैठकमै पुगेर राजीनामाका लागि निवेदन दिएको नेकपाको उच्च स्रोतले पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् । पटक–पटक सम्पर्क गर्दा मानन्धरको माबोइल ‘स्वीच–अफ’ भएको पाइयो ।
काठमाडौं– ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्वाचित भएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।