नेपाली सेनाले करिव ५ हजार थान अमेरिकी हतियार (एम– १६ राइफल) भित्र्याउने भएको छ । सेनाले यस वर्षका लागि झन्डै १ अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको हो ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागेको सेनाले जनाएको छ । विश्व शान्तिमा खटिने सेनालाई आवश्यक पर्ने सामग्रीको विधिसम्मत खरिदमा सरकारले सेनालाई सहयोग गर्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका थिए । खरिद प्रक्रिया भने उनी रक्षामन्त्री हुनुअगावै अघि बढेको थियो ।
‘हतियार खरिदको विषय जी–टु–जी नै हुने गरी प्रक्रिया अघि बढेको होला,’ सैन्य प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने– ‘पछिल्लो जानकारी बुझ्नैपर्छ । हतियार खरिद हुने विषय सरकार–सरकारबीच नै सम्झौता हुने गरेको छ ।’
नेपाली सेनाले अत्याधुनिक हतियार किन्न लागेको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।