ईश्वरपुर नगरपालिका– २ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले ‘भर्ना गर्न जन्मदर्ता लिएर आऊ’ भन्यो ।
भोलिपल्ट बिहानै उनका बुबा सत्यसिंह ब्लोन तामाङ जन्मदर्ताका लागि भक्तिपुर गाविस भवन पुगे । सचिवले कडा स्वरमा सोधे– ‘घरमा ट्वाइटेल छ ?’ सत्यसिंहले मुन्टो हल्लाउँदै भने– ‘अहँ ।’
सचिवको जवाफ आयो– ‘ट्वाइलेट नबनाएसम्म जन्मदर्ता बन्दैन ।’ पवित्राका बुबा खिन्न मन लिएर फर्किए । त्यसपछि पवित्राका लागि बन्द भयो, एक किलोमिटर परको स्कुल जाने ढोका ।
गाविस सचिवको त्यही वाक्य सुनेर फर्किएको ४ वर्ष बित्यो । पवित्राका बुबाले न ट्वाइलेट बनाउन सके न छोरीलाई स्कुल पठाउन । जन्मदर्ता, ट्वाइलेट, स्कुल, गरिबी– यी चार शब्दको वरिपरि रिँगिइरह्यो पवित्राको स्कुल जाने सपना । उनको बालस्मृतिबाट स्कुल गएका दिन बिस्तारै मेटिँदै छन् ।
पूर्व–पश्चिम राजमार्गको सागरनाथ चोकबाट करिव ४ किलोमिटर जंगलको बाटो हिँडेपछि पवित्राको गाउँ मियाँखोर पुगिन्छ । गाउँको मुखैमा छ वरपीपलको रूख । त्यसैको छायामा छ एउटा दोकान । त्यही दोकान र वरपीपलको छहारीले गाउँको कथा बताउँने खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।