newskoseli.Com

वीर अस्पतालमा यो हदको अनियमितता !

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरिद प्रक्रियासम्ममा व्यापक अनियमितता गरेको पाइएको छ ।

अनुगमनपछि राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नुका साथै खरिद ऐनविपरीत मेसिन–उपकरण खरिद गरेको पाइएको प्रवक्ता विष्णुबहादुर लामिछानेले जानकारी दिएका छन् । खरिद गुरुयोजना नबनाउने र वार्षिक खरिद योजनाअनुरुप समयमा खरिद प्रक्रिया अगाडि नबढाउने तर आ.व. को अन्त्यतिर बजेट फ्रिज हुन्छ भन्दै हतार–हतारमा खरिद गर्ने गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पताल सञ्चालनका लागि नियमित रुपमा आवश्यक पर्ने औषधि र सरसफाइलगायत अन्य सामग्री सोझै खरिद गर्ने प्रवृत्ति देखिएको छ ।
प्रतिवेदनअनुसार प्रतिष्ठानका जिम्मेवार पदाधिकारीले वीर अस्पतालमा ९४ र ट्रमा सेन्टरमा १ सय जना स्वीकृतीविनाका दरबन्दीमा जनशक्ति नियुक्त गरिएको पाइएको छ । पदपूर्ति सेवा आयोगले गर्ने कानुनी व्यवस्था भए पनि २०७२ असोजदेखि आयोगबाट पदपूर्ति नभएको पाइएको छ ।

‘लामो समयसम्म वैधानिक बाटोबाट पदपूर्ति नगरिँदा एकातिर सेवा प्रवाहमा समस्या भएको देखिएको छ भने अर्कोतर्फ कार्यरत कर्मचारीहरुको वृत्ति विकासमा समस्या देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ– ‘नियमित प्रक्रियाबाट रीतपूर्वक पदपूर्ति नगरीकन करार र ज्यालादारीमा, कुनै विधि–प्रक्रियाको अवलम्बन नगरी, स्वविवेकका आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका जिम्मेवार पदाधिकारी नियुक्त भएको पाइएको छ ।’

यसरी नियुक्त भएका कर्मचारी नियुक्त गर्ने पदाधिकारीबाट उनीहरुले खाएको तलब–भत्ता र अन्य सुविधा वापतको रकम असुल गर्न प्रतिवेदनमा सुझाइएको छ । यन्त्र–उपकरण खरिद गर्नका लागि खरिद एकाइ गठन गरे पनि एकाइमा विशेषज्ञ प्राविधिकभन्दा अहेव, नर्सिङ र प्रशासनतर्फका कर्मचारी बढी रहेका भेटिएको छ । खरिद एकाइमा वरिष्ठ चिकित्सकको अध्यक्षतामा खरिद महाशाखा गठन गर्न समेत प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

अस्पतालले सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ विपरीत सिटीस्क्यान मेसिन खरिद गरेको पाइएको छ । उक्त मेसिन खरिदमा लागत अनुमान तयार पार्दा तीन फर्मसँग दर माग गरिए पनि ती कम्पनीको आधिकारिकता समेत नपाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, बाइम्ड इन्टरनेसनल र मेडिकल सोलुसनबाट खरिद गर्दा दर पेस गरेको पत्रमा दर पेस गर्ने आधिकारिक निकायको हस्ताक्षर समेत नभएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

न्यून रकम कबोल गर्नेभन्दा बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरिएको समेत छानबिनका क्रममा देखिएको जानकारी केन्द्रका सूचना अधिकारी दालनाथ अर्यालले दिएका छन् । अस्पतालले आ.व. २०७३–०७४ मा खरिद गरिएका महत्त्वपूर्ण उपकरण खरिदका लागि लागत अनुमान तयार पार्दा उच्च मूल्य राखेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, प्रतिष्ठानले बोलपत्र नै नगरी ६ करोड ६६ लाख ६६ हजार ४ सय ३० रूपैयाँमा टेम्पोग्राफी मेसिन खरिद गरेको र सोको वार्षिक मर्मत खर्च २३ लाख ५० हजार हुनेगरी गरेको सम्झौता नियमविपरीत रहेको देखिएको छ ।

केन्द्रले तयार पारेको यो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पठाइएको सूचना अधिकारी अर्यालले बताए । वीर अस्पतालमा चैतदेखि असारसम्म केन्द्रका उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा छानबिन गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर