निर्मला पन्तके बलात्कारपछि भएके हत्याको अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कञ्चनपुरका सयौं व्यक्तिको डीएनए परीक्षण गर्ने प्रक्रिया अघि बढाएको छ ।
घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डीएनए परीक्षण गर्न लागिएको हो । डीएनए परीक्ष्णका लागि मंगलबार थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ ।
अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डीएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । प्रहरीसँग अन्य प्रमाण नभएपछि डीएनएलाई नै अनुसन्धानको आधार बनाएको हो । अन्य देशमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।
सुरुमा चार जनाको डीएनए परीक्षण गर्दा उनीहरु सबैको रिपोर्ट म्याच नभए क्रमशः सयौं व्यक्तिहरुको डीएनए परीक्षण गर्ने तयारी छ । घटनाका बेला त्यहाँ आसपास भएका, खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरुको डीएनए परीक्षण गर्न लागिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।